सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने बाटो खुल्यो, कसलाई कस्तो श्रेणीका स्वकीय
संघीय संसदका सदस्यहरूले रा.प. तृतीय श्रेणीको स्वकीय राख्न पाउनेछन् । त्यस्तै सभामुख र राष्ट्रियसभा अध्यक्षले रा.प.प्र सरहको प्रमुख स्वकीय सचिव १ जना राख्न पाउने छन् भने द्वितीय श्रेणी र तृतीय श्रेणीका दुई जना स्वकीय राख्न पाउनेछन् ।
काठमाडौं । सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने बाटो खुलेको छ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न सक्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै स्वकीय नियुक्त गर्ने बाटो खुलेको हो ।
केही दिनिअघ मात्रै मन्त्रिपरिषद्को बैठकले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको थियो । सोही निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै सांसदहरुले स्वकीय सचिव राख्न पाउने भएका हुन् । विगतमा पनि सांसदहरूले स्वकीय सचिव राख्न पाउँथे तर, सुशीला कार्की नेतृत्वको सरकारले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भनेर ५ असोज २०८२ मा सांसदको स्वकीय सुविधा खारेज गरेको थियो ।
फागुन २१ मा निर्वाचित भएर आएको प्रतिनिधिसभा सदस्यहरूले सांसदलाई स्वकीय सचिव आवश्यक रहेकोमा जोड दिँदै आएका थिए ।
संघीय संसदका सदस्यहरूले रा.प. तृतीय श्रेणीको स्वकीय राख्न पाउनेछन् । त्यस्तै सभामुख र राष्ट्रियसभा अध्यक्षले रा.प.प्र सरहको प्रमुख स्वकीय सचिव १ जना राख्न पाउने छन् भने द्वितीय श्रेणी र तृतीय श्रेणीका दुई जना स्वकीय राख्न पाउनेछन् ।
विपक्षी दलको नेता, उपसभामुख, उपाध्यक्ष, प्रमुख सचेतकहरू र सभापतिले पनि द्वितीय श्रेणीको स्वकीय सचिव राख्न पाउने छन् । स्वकीय सचिवहरुले सुरु स्केल अनुसारको तलब मात्र पाउने बताइएको छ ।