लगानिकर्ताको आन्दोलन सँगै ६.११ अकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
सेयर बजारमा लगातार आएको गिरावटको विरोध गर्दै सेयर लगानीकर्ताहरू आन्दोलनमा उत्रिए सँगै सेयर नेप्से बढेको छ । मंगलबार नेप्से परिसूचक ६.११ अंक बढेर २५७६.२९ विन्दुमा पुगेको छ । आज ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । सेयर बजारमा लगातार आएको गिरावटको विरोध गर्दै सेयर लगानीकर्ताहरू आन्दोलनमा उत्रिए सँगै नेप्से बढेको छ । सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालाको नेतृत्वमा बिहानै सेबोन पुगेका प्रदर्शनकारीहरूले पूँजी बजारमा देखिएको निरन्तर गिरावट रोक्न सरकार र नियामक निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए । लगानीकर्ताहरूले पूँजी बजार संकटमा परेको भन्दै सरकार र नियामक निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए । उनीहरूले ‘पूँजी बजार बचाउ’, ‘तत्काल रेस्क्यु प्लान लागू गर’, ‘नियामक निकाय मुकदर्शक बन्न पाउँदैन’ लगायतका नारासहित प्रदर्शन गरेका थिए ।
निरन्तर चार दिनको गिरावट पछि आज भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक ६.११ अंक बढेर २५७६.२९ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ । १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन ०.१८ प्रतिशत घटेको हो।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । हिजो सोमबार भने ७ अर्ब ४६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य सर्वाधिक १०।२२ प्रतिशत बढेको छ । त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको ७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९० को मूल्य आज सर्वाधिक ९.६८ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार भएका १० शीर्ष स्टकहरुमा ९ ऋणपत्र रहेका छन् । १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को ५२ करोड ७१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै १० प्रतिशत एनआईएमबि डिबेञ्चर २०९० को ३९ करोडभन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।
मङ्गलबार कारोबारमा आएकामध्ये १६४ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
