सातै प्रदेशमा सुविधासम्पन्न बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

विज्ञापन
ncell

प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन निजी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिए ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् । गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने सुनिश्चित गर्न उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्ड सुदृढीकरण गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वयमार्फत बर्न उपचार सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । उनले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे ।

प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन निजी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिए । स्वास्थ्य संस्थाहरूबीच उत्कृष्ट अभ्यास आदानप्रदान गर्नुपर्नेमा जोड दिँदै उनले प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका समस्या सम्बन्धित निकायसँग समन्वय गरी कानुनअनुसार समाधान गरिने बताए ।

छलफलका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा सुधार, विशेषज्ञ सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन तथा पूर्वाधार विकासका विषयमा सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले स्वास्थ्य सेवाको डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा प्रतिष्ठानका जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा।डा। नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायणसिंह गुरुङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा। स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए ।