मौद्रिक नीतिलाई सेयर बजारले गरेन स्वागत: नेप्से ३०.०९ अंक घट्दै २६२१.५९ विन्दुमा, ४ अर्ब ८२ करोडको किनबेच
बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा खुम्चिएको हो ।
काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार घटेको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा खुम्चिएको हो । मौद्रिक नीतिमा लचिलो नीतिहरुको अपेक्षा गरिरहेका लगानीकर्ताले खासै कुनै परिवर्तन र बजारलाई टेवा पुग्ने कुनै नीति नपाएपछि यस दिन बजार घट्न पुगेको हो ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अंक घटेको छ । सबैजसो समूहगत सूचक घटेका छन् । बैंकिङ १.१८, विकास बैंक १.४६, फाइनान्स १.४३, होटल तथा पर्यटन १.२९, जलविद्युत् १.७०, लगानी ०.३९, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन १.१३, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा १.०७, अन्य १.१५ तथा व्यापार ०.२१ प्रतिशत घटे ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। आज नेप्सेमा कुल ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार भने नेप्सेमा कुल ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज मूल्य बढेका स्टकहरुको वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक १३।४१ प्रतिशत घटेको छ । त्यस्तै,उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा आज ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६२ करोड ३९ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, साढे ४३ करोड रुपैयाँभन्दा बढीको ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ किनेबच भएको छ ।
