व्यक्तिगत जमानीबाट असीमित दायित्व घटाईने, बढ्नसक्छ ऋण लिने आधार
हालको व्यवस्थाले एउटै संस्थाले कर्जा लिँदा पनि एकभन्दा बढी लगानीकर्तालाई आवश्यकताभन्दा बढी दायित्वसहित जमानी बस्नुपर्ने अवस्थाले उनीहरूको भविष्यमा कर्जा लिने क्षमता प्रभावित हुँदै आएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्वलाई घटाउने रणनीति लिएको छ ।
कर्जाको सुरक्षणस्वरूप व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) लिँदा जमानीकर्तामाथि असीमित दायित्व सिर्जना गर्ने हालको परिपाटीलाई बदल्ने नीति अख्तियार गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जाको सुरक्षण स्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने प्रावधानलाई प्राथमिकताको साथमा ल्याएको उल्लेख गरेको छ । यसले थप व्यक्तिहरुको ऋण लिने क्षमता विस्तार हुन सक्ने अनुमान राष्ट्र बैंकको छ । राष्ट्र बैंकले कर्जा विस्तार दायरा विस्तार गर्न पनि व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्वलाई न्यूनीकरण गर्न खोजेको हुनसक्छ ।
राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेलले व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्वलाई न्यूनीकरण प्रावधानले ऋणीलाई केही हदसम्म भएपनि सहज बनाउने बताए ।
गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै ११ प्रतिशत कर्जा विस्तार गर्ने कार्यक्रम अघि ससारेका छन् । सरकारले अघि सारेको ७ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य पछ्याउन र नीजि क्षेत्रबाट उत्पादन बढाउन पनि ऋण विस्तार अपरिहार्य हुन्छ । चालू वर्ष १० महिनासम्म निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.७ प्रतिशत मात्रै छ । निजी क्षेत्रले लगानी तथा व्यवसाय विस्तारमा सक्रियता नदेखाउँदा आर्थिक गतिविधि सुस्त भएको राष्ट्र बैंकको ठम्याई छ । चालू वर्ष ३.८५ प्रतिशत मात्रै आर्थिक बृद्धि हासिल हुने प्रक्षेपण छ । त्यसैले अर्थतन्त्र विस्तारका लागि सरकारको पुँजीगत खर्चसँगै निजी क्षेत्रमा कर्जा बृद्धि अनिवार्य सर्त हो ।
हालको व्यवस्थाले एउटै संस्थाले कर्जा लिँदा पनि एकभन्दा बढी लगानीकर्तालाई आवश्यकताभन्दा बढी दायित्वसहित जमानी बस्नुपर्ने अवस्थाले उनीहरूको भविष्यमा कर्जा लिने क्षमता प्रभावित हुँदै आएको थियो । यही अवस्थालाई सुधार गर्न राष्ट्र बैंकले व्यक्तिगत जमानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्दै असीमित दायित्व घटाउने नीति लिएको राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.सत्येन्द्र तिमिल्सिनाले बताए । 'अहिलेको व्यवस्थाले एउटै संस्थाको वरिपरी धेरै मानिसहरु वाँधिनुपर्ने स्थिति छ', कार्यकारी निर्देशक तिमिल्सनाले भने, 'यस प्रावधानलाई खुकुलो बनाउँदा अरु धेरै व्यक्तिहरुलाई ऋण लिने बाटो खुल्न सक्छ ।'