चेरीको नयाँ इलेक्ट्रिक क्रसओभर ‘चेरी क्यू’ नेपाल आउँदै, ‘नाइमा एक्स्पो’ मा सार्वजनिक गरिने

कम्पनीका अनुसार यो गाडी आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक सार्वजनिक गरिनेछ ।

काठमाडौँ ।  नेपाली विद्युतीय सवारी (इभी) बजारमा अर्को नयाँ मोडल पनि थपिने भएको छ । चेरीले आफ्नो नयाँ शतप्रतिशत विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार यो गाडी आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक सार्वजनिक गरिनेछ ।

आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको चेरी क्यू बी-सेग्मेन्टको विद्युतीय क्रसओभर भएको कम्पनीले जनाएको छ । आकर्षक बाहिरी डिजाइनसँगै यसमा फराकिलो र व्यावहारिक इन्टेरियर छ। गाडीमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ। पछाडिका सिट फोल्ड गर्दा यो क्षमता १ हजार ४५० लिटरसम्म विस्तार गर्न मिल्छ ।

चेरी क्यूमा ९० किलोवाटको पर्मानेन्ट म्याग्नेट इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसमा ४१.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । रियर-ह्विल ड्राइभ प्रणाली भएको यो गाडीले एनईडीसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

चार्जिङ सुविधाका हिसाबले पनि चेरी क्यूमा ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यसले ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १६ मिनेटमै चार्ज गर्न सक्ने बताइएको छ ।

गाडीमा भेहिकल-टू-लोड (भी२एल) सुविधा पनि दिइएको छ । यसमार्फत बाह्य विद्युतीय उपकरण संचालन गर्न सकिन्छ । चेरी क्यू नेपालमा ३ भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसमा ५ वटा बाहिरी रङ र २ वटा इन्टेरियर कलर थिमको विकल्प रहनेछ।

चेरी क्यूको आधिकारिक सार्वजनिक र मूल्य घोषणा आगामी अगस्ट ११ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा गरिने कम्पनीले जानकारी दिएको छ ।