उपभोक्तालाई राहत दिने निर्णयमा पेट्रोल पम्पहरुको अवरोध
कृत्रिम अभाव सिर्जना गरेको पाईए पम्प सिल गर्ने आयल निगमको दावी
बोर्ड टाँसेर सटर बन्द गरेपछि उपभोक्ता भने इन्धन खोज्दै सास्ती खेपिरहेका छन् । उनीहरु एक पम्पबाट अर्को पम्प धाउन बाध्य छन् ।
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएको भोलिपल्टै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानका निजी पेट्रोल पम्पले बिक्री वितरण बन्द गरेका छन् । धेरै पम्पले ‘पेट्रोल छैन’ भन्दै बोर्ड टाँसेर सटर बन्द गरेपछि उपभोक्ता भने इन्धन खोज्दै सास्ती खेपिरहेका छन् । उनीहरु एक पम्पबाट अर्को पम्प धाउन बाध्य छन् । सरकारी स्वामित्वका तथा सञ्चालनमा रहेका केही निजी पम्पमा भने बिहानैदेखि सवारीसाधनको लामो लाइन देखिएको छ । उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट पनि निजी पम्प बन्द गरिएको सूचना आएका छन् ।
नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो । कम मूल्यमा पेट्रोलियम पदार्थ बेच्नु परेपछि घाटा हुने भन्दै व्यवसायीहरुले पम्प नै बन्द गरेका हुन् । विगतमा पनि पम्पहरुले मूल्य बढ्दा बिक्री गर्थे र पम्प नै बन्द गरेर नेपाल आयल निगमसँग सहुलियतका लागि वार्गेनिङ गर्थे ।
यद्यपि, निगमले भने बजारमा इन्धनको कुनै अभाव नरहेको स्पष्ट पारेको छ । निगमका अनुसार केही व्यवसायीले मूल्य घट्ने जानकारी पाएपछि पुरानो महँगो स्टक बचाउन नयाँ इन्धन लोड नगरेका कारण यस्तो अवस्था सिर्जना भएको हो ।
निगमसँग पर्याप्त इन्धन मौज्दात रहेको र नियमित आपूर्ति भइरहेको छ । केही पम्पको भण्डारण क्षमता सीमित भएकाले सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्र बजारमा अभाव नरहेको निगमाको भनाइ छ ।
निगमले इन्धन उपलब्ध हुँदाहुँदै पनि बिक्री नगर्ने वा जानाजानी लोड नगरी ‘इन्धन छैन’ भन्दै बोर्ड राख्ने पेट्रोल पम्पमाथि अनुगमन तीव्र पारिएको जनाएको छ । कृत्रिम अभाव सिर्जना गरेको पुष्टि भए त्यस्ता पम्पलाई सिल गर्नेसम्मको कारबाही गरिने निगमले चेतावनी दिएको छ ।