सेयर नामसारीमा १ प्रतिशत थप कर लाग्ने हल्लाले सेयर बजार झनै खस्कियो, कारोबार रकम २ अर्ब ६७ करोड

धितोपत्र बोर्डका नबनियुत्त अध्यक्ष भट्टलाई पनि बजारले पत्याएन

प्रि-ओपन सेसनमै ५ अंकले घटेको नेप्से नियमित कारोबारमा झनै खस्कियो । तर, अन्तिम कारोबारमा केही सुधार देखाइएकाले न्यून विन्दुबाट माथि उठेको छ । मध्यान्हमा नेप्से २६२४.१७ अंकसम्म झरेको थियो ।

काठमाडौं । सरकारले कुनै कम्पनीको सेयर किन्दा कारोबार मूल्यको एक प्रतिशत कर उठाउने हल्ला चलेपछि सेयर बजारमा थप निरासा पैदा भएको छ ।

सरकारले बनाउन लागेको नयाँ कम्पनी ऐन २०८३ को मस्यौदा अनुसार कम्पनीको सेयर किनबेच गर्दा खरिदकर्ताले १ प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क उठाउने प्रस्ताव गरिएको छ । सोही प्रस्तावलाई लिएर सेयर बजारका लगानीकर्ता पनि सशंकित बनेका छन् । त्यसैका कारण साताकेा पहिलो कारोबार दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज नेप्से (नेप्से) १६.५४ अंकले घटेर २६३२.९६ अंकमा रोकिएको छ । गत साता पाँच दिनको कारोबारमा पाँचै दिन घटेको नेप्से सोमबार थप ‘पेनिक’ देखिएको छ । 

सरकारले आगामी वर्षको बजेटमार्फत एक वर्षभन्दा बढी अवधिको सेयर कारोबारमा १० प्रतिशत र एक वर्षभित्रको सेयर किनबेचमा ७.५ प्रतिशत पुँजीगत लाभकर लगाउने घोषणा बजेटमार्फत गरिसकेको छ । यस्तो अवस्थामा २५ लाख रुपैयाँभन्दा बढीको सेयर हस्तान्तरणमा थप एक प्रतिशत कर लाग्ने हल्लाले लगानीकर्तालाई थप सशंकित बनाएका कारण सोमबार नेप्से सूचक थप प्रभावित भएको हो ।  

गत असार ५ गते नियुक्त भएका पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग सपथ लिएर नियामकीय कार्यभार थालेपनि त्यसको असर सेयर बजारमा परेन । सरकारको नीतिसँग आश्वस्थ हुन नसकेका लगानीकर्ताले बोर्डमा आएका नयाँ अध्यक्षलाई पनि विश्वास देखाएनन् । 

प्रि-ओपन सेसनमै ५ अंकले घटेको नेप्से नियमित कारोबारमा झनै खस्कियो । तर, अन्तिम कारोबारमा केही सुधार देखाइएकाले न्यून विन्दुबाट माथि उठेको छ । मध्यान्हमा नेप्से २६२४.१७ अंकसम्म झरेको थियो ।

सोमबार नेप्से घटेपनि केही कम्पनीहरुको सेयर मूल्यमा भने उच्च बृद्धि देखिएको छ । टक्सार पिखुवाखोला हाईड्रोपावर, यम्बलिङ हाईड्रोपावर, स्नोरिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सर्किटलेबलमा कारोबार भएको छ । सोमबार २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य शुक्रबारकै मूल्यमै स्थिर छ । घट्ने कम्पनीहरुमध्ये सबैभन्दा बढी सेयर मूल्य स्वाभिमान लघुवित्त वित्तीय५.८३ प्रतिशतले घटेको छ ।

सोमबार नेप्सेसँग कारोबार रकम पनि खुम्चिएको छ । शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको ७६ लाख ९९ हजार कित्ता सेयरर खरिदबिक्री भएको छ । सोमबार ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै ८ करोड ८३ लाख ६२ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । सोमबार नेप्सेमा वर्गिकउत १३ वटै समूह सूचक घटेका छन् । निर्जीवन बीमा समूह सूचक सर्वाधिक १.३९ प्रतिशतले घटेको छ ।