बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कस्तो चाहिन्छ योग्यता ?

बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव हासिल गरेको व्यक्ति अध्यक्षका लागि योग्य हुनेछन् ।

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकलाई ७ दिन (जेठ १९ गते) भित्र आवेदन दिन भनेको छ । समितिले आज जेठ १३ गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले ७ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा व्यक्तिगत विवरणसहित आवश्यक कागजात संलग्न गरी आवेदन पेश गर्नुपर्नेछ ।

बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव हासिल गरेको व्यक्ति अध्यक्षका लागि योग्य हुनेछन् ।