राइड-सेयरिङ बजारमा उबरको इन्ट्री, ट्याक्सीमाण्डुसँग साझेदारी गर्दै सेवा सुरु

दुई कम्पनीबीच भएको सम्झौताअनुसार उबरले आफ्नो विश्वव्यापी रूपमा स्थापित एप र प्रविधि उपलब्ध गराउनेछ भने नेपालभित्रको सञ्चालन, चालक व्यवस्थापन र अनबोर्डिङको जिम्मा ट्याक्सीमाण्डुले सम्हाल्नेछ ।

काठमाडौं । अमेरिकी राइड-हेलिङ प्लेटफर्म उबरले नेपाली बजारमा आफ्नो सेवा अनौपचारिक रूपमा सुरु गरेको छ । बुधबारबाट उबरले काठमाडौं उपत्यकाभित्र सेवा सञ्चालनमा ल्याएको हो । उबरका बाइक र कार सुविधा एपमा छनोट गर्न सकिन्छ ।

नेपालमा आफ्नो सेवा विस्तारका लागि उबरले स्थानीय राइड-सेयरिङ कम्पनी ट्याक्सीमाण्डुसँग रणनीतिक साझेदारी गरेको छ । दुई कम्पनीबीच भएको सम्झौताअनुसार उबरले आफ्नो विश्वव्यापी रूपमा स्थापित एप र प्रविधि उपलब्ध गराउनेछ भने नेपालभित्रको सञ्चालन, चालक व्यवस्थापन र अनबोर्डिङको जिम्मा ट्याक्सीमाण्डुले सम्हाल्नेछ ।

हाल काठमाडौं उपत्यकामा यात्रुहरूले उबर एपमार्फत बाइक, कार तथा ट्याक्सी सेवा बुक गर्न सक्ने सुविधा पाएका छन् । केही दिनयता कम्पनीले चालक तथा यात्रु दर्ता प्रक्रिया तीव्र बनाएको थियो भने मंगलबार मात्रै उबरले आधिकारिक ईमेलमार्फत आफू काठमाडौंमा आइसकेको जानकारी दिएको थियो ।

उबरको आगमनसँगै नेपालको राइड-सेयरिङ बजारमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ । यसअघि नै पठाओ, इन्ड्राइभ र याङगो जस्ता प्लेटफर्महरूले काठमाडौंमा बलियो उपस्थिति बनाइसकेका छन् । उबरले भने सुरुवाती चरणमै प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा कम भाडादर देखाएर यात्रुको ध्यान तान्न थालेको छ । सन् २००९ मा स्थापना भएको उबरले हाल विश्वका ७० भन्दा बढी देशका १० हजारभन्दा धेरै सहरमा सेवा दिँदै आएको छ । राइड-सेयरिङ बाहेक कम्पनीले उबर इट्स मार्फत खाना डेलिभरी तथा उबर फ्रेट्स मार्फत सामान ढुवानी सेवा पनि सञ्चालन गर्दै आएको छ । नेपालमा भने उबरले प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा मात्रै सेवा केन्द्रित गरेको छ । आगामी दिनमा देशका अन्य प्रमुख सहरमा समेत सेवा विस्तार गर्ने कम्पनीको तयारी रहेको बताइएको छ ।