पुँजीबजारमैत्री रास्वपा वाचापत्रको प्रभाव कस्तो देखिएला सेयर बजारमा?

भदौ २३ र २४ गतेको जेनजी (Gen-Z) आन्दोलन र त्यसले निम्त्याएको सङ्कटबाट लगानीकर्ताको मनोबल कमजोर भइरहेको अवस्थामा दुई तिहाइको सरकार बन्ने भएकाले कम्तीमा निश्चिन्त ५ वर्ष एउटै दलले सरकार चलाउनेछ । अर्कोतिर रास्वपा लोकतान्त्रिक प्रणाली स्वीकारेर त्यसप्रति प्रतिबद्ध रहेकाले आगामी दिनमा धेरै सकारात्मक अवसरहरू सिर्जना हुनेछन् भन्ने विश्वास गर्न सकिन्छ । यस्तो अवस्थामा सोमबार खुल्ने सेयर बजारले कस्तो प्रतिक्रिया देला भन्ने धेरैको चासो छ ।

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फको मतपरिणाम र अहिलेसम्म सार्वजनिक समानुपातिक मतको प्रवृत्ति हेर्दा केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइसहितको बलियो सरकार बनाउनेछ । नेपालको लोकतान्त्रिक व्यवस्थामा एकैसाथ एउटै दलले यति धेरै बहुमत प्राप्त गरेको यो पहिलो पटक हो ।

सम्पूर्ण निर्वाचन परिणाम आएसँगै सरकार गठन प्रक्रिया सुरु हुनेछ । रास्वपा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह प्रधानमन्त्री बन्नेछन् भने अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्ले (जोसँग राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरेको अनुभव छ र बाह्य दाताहरूसँग राम्रो सम्बन्ध छ) आउनेछन् । किनभने पार्टी सभापति रवि लामिछानेले चुनावी प्रचारकै दौरान वाग्लेलाई बजेट लेख्दै गर्न सार्वजनिक मञ्चबाटै आग्रह गरेका थिए । त्यसैले प्रधानमन्त्री र अर्थमन्त्री को हुन्छन् भन्ने द्विविधा छैन । यस्तो बेला नेपालको सेयर बजारले कस्तो गति समाउला भन्ने धेरैलाई चासो छ । विगतमा पनि सामान्यतया निर्वाचनपछि सेयर बजारले नयाँ उचाइ समाएको (२०७९ बाहेक) इतिहास छ । त्यतिबेला यस्तो अभूतपूर्व बहुमत मात्र होइन, सामान्य बहुमत पनि थिएन र कतिपय अवस्थामा दुई दल मिलेर समेत सरकार बनाउने अवस्था थिएन । तर, यसपटक फरक माहोल छ । अर्थतन्त्रका बाह्य सूचकहरू अत्यन्तै मजबुत अवस्थामा छन् ।

भदौ २३ र २४ गतेको जेनजी (Gen-Z) आन्दोलन र त्यसले निम्त्याएको सङ्कटबाट लगानीकर्ताको मनोबल कमजोर भइरहेको अवस्थामा दुई तिहाइको सरकार बन्ने भएकाले कम्तीमा निश्चिन्त ५ वर्ष एउटै दलले सरकार चलाउनेछ । अर्कोतिर रास्वपा लोकतान्त्रिक प्रणाली स्वीकारेर त्यसप्रति प्रतिबद्ध रहेकाले आगामी दिनमा धेरै सकारात्मक अवसरहरू सिर्जना हुनेछन् भन्ने विश्वास गर्न सकिन्छ । यस्तो अवस्थामा सोमबार खुल्ने सेयर बजारले कस्तो प्रतिक्रिया देला भन्ने धेरैको चासो छ ।

रास्वपाले ल्याएको वाचापत्रमा पनि पुँजीबजारबारे स्पष्ट अवधारणाहरू अघि सारिएका छन् । रास्वपाले आफ्नो वाचापत्रमा पुँजीबजारलाई अर्थतन्त्रको वास्तविक ऐना बनाउने दाबी गरेको छ । रास्वपाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएससीको पुनर्संरचना गरी निजी क्षेत्रको सहभागिता बढाउने र इन्ट्रा-डे (Intra-day) ट्रेडिङ, सर्ट सेलिङ, फ्युचर्स र अप्सन जस्ता डेरिभेटिभ उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने प्रतिबद्धता जनाएको छ । त्यति मात्र होइन, पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने, वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने र प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँड सुनिश्चित गर्ने वाचा गरेको छ । त्यसैगरी पुँजीबजारलाई काठमाडौंबाहिर डिजिटल माध्यमबाट देशैभर पुर्‍याउने र संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने तथा गैरआवासीय नेपालीहरूको लगानीको व्यवस्था गर्ने वाचा गरेको छ । यसले पुँजीबजारमा सकारात्मक प्रभाव पार्ने नै छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत मंगलबार (फागुन १९ गते) कारोबार बन्द हुँदा २,७१२.४९ अङ्कमा रोकिएको थियो । फागुन १० गते २,६१४.५५ अङ्कमा रोकिएको नेप्से ६ कारोबार दिनमा ९७.९२ अङ्कले बढेको थियो । यसले निर्वाचनपछि आशावादी हुने सङ्केत गरेको थियो । अझ एउटै दलले अभूतपूर्व परिणाम हात पारेपछि अब बजारले कस्तो गति लेला भनेर अनुमान गर्न सकिन्छ । सम्भवतः भोलि सोमबार बजार ६ प्रतिशतले नै बढ्ने अनुमान गर्न सकिन्छ । नेप्से सूचक नियमित कारोबारको पहिलो घण्टामा अर्थात् दिउँसो १२ बजेअघि ४ प्रतिशत घट्यो वा बढ्यो भने २० मिनेटका लागि कारोबार स्थगित हुन्छ । नेप्से दोस्रो घण्टा अर्थात् दिउँसो १ बजेभित्र ५ प्रतिशतले उतारचढाव भएमा दोस्रो सर्किट मानेर ४० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि नेप्से सूचक ६ प्रतिशतले बढेमा वा घटेमा दिनको बाँकी सबै कारोबार ठप्प हुन्छ । कम्पनीको हकमा भने १० प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था छ । कम्पनीका हकमा १० प्रतिशत बढ्दा वा घट्दा कारोबार रोकिँदैन तर, त्यसभन्दा बढी घट्ने वा बढ्ने अवस्था सिर्जना हुँदैन । त्यसैले यस्तो सहज अवस्थामा भोलि सोमबारको कारोबारले नयाँ अनुभूति सिर्जना गर्ने सम्भावना छ । लगातार बजार बढ्दा छिटो बन्द हुने अवस्था आउन सक्ने सम्भावनाका कारण लगानीकर्ताले सोचविचार गरी दिनभर नै कारोबार हुने अवस्था सिर्जना गर्नका लागि पहल लिन पनि सक्छन् ।


यस्तो छ सेयर बजारका विषयमा रास्वपाको वाचापत्रः