प्रिमियममा आइपीओ निष्काशन गर्न १० कम्पनी अग्रसर, दिए धितोपत्र बोर्डमा आवेदन

८९ कम्पनीबाट ५९ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ भन्दा धेरैको आइपीओ अनुमति माग

सबैभन्दा धेरै प्रिमियमा सेयर विक्री गर्न उत्पादनमूलक तथा प्रशोधन समूहमा रहने औद्योगिक प्रतिष्ठानहरुले चासो राखेका छन् । जलविद्युत क्षेत्रका दुई, लगानी समूहका १ र उत्पादनमूलक तथा प्रशोधन समूहका ७ कम्पनी छन् ।

काठमाडौं । पछिल्लो समय प्रिमियममा सेयर विक्री गर्न विभिन्न क्षेत्रका १० कम्पनी अग्रसर देखिएका छन् । उनीहरु प्रिमियम मूल्यसहित सेयर विक्री स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीको विस्तृत अध्ययन गरि बोर्डले स्वीकृति दिएमा ति कम्पनीहरुले छिट्टै प्रिमियमा प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) ल्याउने छन् ।

धितोपत्र बोर्डमा परेका आवेदनअनुसार जलविद्युत क्षेत्रका दुई, लगानी समूहका १ र उत्पादनमूलक तथा प्रशोधन समूहका ७ कम्पनीले प्रिमियममा सेयर विक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । विवरणअनुसार

नुम्बुर हिमालयन हाइड्रोपावरले २१८ रुपैयाँमा ३० लाख ६ हजार २ सय २ कित्ता, सेञ्चुरी इनर्जीले २७५ रुपैयाँ ११ पैसामा ३ लाख कित्ताका लागि बोर्डमा आवेदन परेको छ । लगानी समूहतर्फ शिवम होल्डिङ्सले २१० रुपैयाँमा १ करोड १६ लाख कित्ता सेयर विक्री गर्ने प्रस्ताव गरेको छ ।

सबैभन्दा धेरै प्रिमियमा सेयर विक्री गर्न उत्पादनमूलक तथा प्रशोधन समूहमा रहने औद्योगिक प्रतिष्ठानहरुले चासो राखेका छन् । जगदम्बा स्टिल्सले ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता, शौर्य सिमेन्ट इण्डष्ट्रिजले २६४ रुपैयाँ ५१ पैसामा १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता, मारुती सिमेन्ट्सले ३७७ रुपैयाँमा १ करोड १६ लाख कित्ता, रिद्धिसिद्धि सिमेन्टले २१४ रुपैयाँ १० पैसामा १ करोड २१ लाख ७१ हजार ५ सय कित्ता, अम्बे स्टिल्सले ३०३ रुपैयाँको प्रिमियम मूल्यमा १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता, हुलास इन्फ्राले ३३३ रुपैयाँ ५६ पैसामा ३५ लाख ४७ हजार १८८ कित्ता र हुलास आइरन इन्डष्ट्रिजले २५५ रुपैयाँमा ९७ लाख ५० हजार किक्ता सेयर वित्री गर्न बोर्डमा आवेदन दिएका छन् । 

विगतमा प्रियियम तथा बुक बिल्डिङ विधिमार्फत उत्पादनमूलक क्षेत्रका कम्पनीलाई सरल तरिकाले आइपीओ विक्री गर्न दिइएपनि पछिल्लो केही समयदेखी प्रिमियम र बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्काशनका लागि स्वीकृति दिइएको छैन । 

चालु आर्थिक वर्षमा १५ वटा कम्पनीलाई आइपीओ निष्काशन अनुमति दिइएकामा सबैले अिंकत मूल्य १०० रुफैयाँमा सेयर विक्री गरेका छन् । धितोपत्र बोर्डमा ८९ कम्पनी ५९ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ भन्दा धेरैको आइपीओ अनुमति कुरेर बसेका छन् ।

त्यसमध्ये होटल तथा पर्यटन समूहको १२ वटा, हाइड्रोपावर समूहको ३४, लगानी समूहको ४, उत्पादन तथा प्रशोधन समूहको २५, लघु बीमा समूहको ३, अन्य समूहको ११ कम्पनी छन् ।