इसीएफको अन्तिम किस्ता दिनुअघि गभर्नरसँग आईएमएफको छलफल, कार्यक्रम ११ मे २०२६ मा सकिने

यो कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख एसडीआर अर्थात् ३९ करोड ५९ लाख अमेरिकी डलर ऋण लिने तय भएको थियो । आईएमएफको कार्यकारी बोर्डले ईसीएफ कार्यक्रम ११ मे २०२६ मा सकिने गरि नीति बनाएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रतिनिधिबीच प्रारम्भिक छलफल सुरु भएको छ । आइएमएफको विस्तारित मर्जा सुविधा (इसीएफ) को सातौँ समीक्ष मिसन तथा आर्टिकल आईभी परामर्श टोलीबीच प्रारम्भिक बैठक भएको हो । बैठकमा दक्षिण–पूर्व एशिया भोटिङ समूह (इसीएफ) का कार्यकारी निर्देशक इदवान हाकिमको पनि सहभागिता छ ।

आईएमएफले इसीएफ अन्तर्गत सातौं किस्ता उपलब्ध गराउनुअघि नेपाली पक्षसँग छलफल अघि बढाएको हो । आईएमएफले ईसीएफमा अहिलेसम्म भएको उपलब्धि र पूरा गर्न बाँकी प्रतिबद्धताका विषय समीक्ष सुरु गरेको हो । इसीएफ र आर्टिकल फोरको संयुक्त टोली दुई साता नेपालमा रहनेछ । यसअघि आइएमएफको ईसीएफ र आर्टिकल फोरको टोली छुट्टाछुट्टै आ(आफ्ना कार्यक्रमका अमिक्षा गर्ने गरेकोमा यसपटक दुबै टोली एकैसाथ आएर ईसीएफको अन्तिम किस्ता दिनुअघि छलफल थालेका हुन् ।

नेपालले इसीएफको छैटौं किस्तासहित अहिलेसम्म ३४ करोड १२ लाख अमेरिकी डलर प्राप्त गरिसकेको छ । वित्तीय तथा आर्थिक सुधारका लागि नेपालले आइएमएफसँग सर्तसहित ऋण स्वीकार गरेको थियो । यसअन्तर्गत आइएमएफले ईसीएफको अन्तिम किस्ता लिनुअघि राष्ट्र बैंक ऐन संशोधन गरिसक्नुुपर्ने सर्त राखेको थियो । तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारणा प्रतिनिधिसभा भंग भएर आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ । यो कार्यक्रम अन्तर्गत बैंकहरुको कर्जा वर्गीकरण, ऋण लगानी, वाह्य लेखापरीक्षकबाट लेखापरीक्षणजस्ता कार्यक्रम अगाडि बढेका थिए । यस कार्यक्रम अन्तर्गत राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन सबैभन्दा विवादित बनेको थियो । बैंकिङ क्षेत्रदेखि व्यवसायी र राजनीतिज्ञसमेतले चर्को विरोध गरेका कारणा तत्कालिन गभर्नर महाप्रसाद अधिकारी निकै विवादमा तानिएका थिए ।

राष्ट्र बैंकले ऐन संशोधनको मस्यौदा अर्थ मन्त्रालय पठाएपनि प्रतिनिधिसभा नभएका कारण अर्थले मस्यौदा अघि बढाएको छैन । यद्यपी आइएमएफले राजनीतिक अस्थिरता र विश्वव्यापी अनिश्चितताबीच नेपालको कार्यक्रमको कार्यसम्पादन राम्रो रहेको जनाएको छ । आइएमएफ टोलीले सबै प्रकारका छलपल सकाएर बनाएको प्रारम्भिक प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाल र गभर्नर पौडेललाई बुझाउने छ। त्यसपछि आइएमएफको हेडक्वाटरमा विस्तारित समीक्षा हुने र त्यहाँबाट प्रतिवेदन पारित भएपछि ईसीएफको अन्तिम किस्ता नेपालले पाउने छ। अन्तिम किस्ता पाउन कम्तिमा ३ महिना लाग्ने छ भने सातौं किस्ता आएसँगै आइएमएफको इसीएफ कार्यक्रम सकिने छ ।

नेपालको शोधनान्तर घाटा अत्यधिक बढेपछि सन् २०२२ को जनवरी १२ मा आईएमएफको कार्यकारी बोर्डले ३८ महिनाको ईसीएफलाई स्वीकृति दिएको थियो । यो कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख एसडीआर अर्थात् ३९ करोड ५९ लाख अमेरिकी डलर (हालको विनिमयदरअनुसार ५७ अर्ब रुपैयाँ हाराहारी) ऋण लिन नेपालले सहमति दिएको थियो । पटक पटक कार्यक्रम सकिने समय थप्दै पछिल्लो पटक १ डिसेम्बर २०२५ मा आईएमएफको कार्यकारी बोर्डले कार्यक्रमको अवधि थपेर ११ मे २०२६ कायम गरेको थियो ।