यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरिने
नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक संस्कृतिक सङ्गठन (युनेस्को) को अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियाबारे छलफल अघि बढेको छ ।
काठमाडौं । नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक संस्कृतिक सङ्गठन (युनेस्को) को अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियाबारे छलफल अघि बढेको छ । काठमाडौँ महानगरले सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधि बिचमा गरको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो ।
यमरीसँगै अनगिन्ती अभौतिक सम्पदामा सूचीकृत गर्नुपर्नेछ । यसले सम्पदाको एकीकृत विकासमा टेवा दिन्छ । समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवर्धनलाई पहिलो प्राथमिक कार्यक्रममा राखेर काम गरिरहेको बताइएको छ ।
छलफलमा ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लव, कारञ्जित समाज, स्यस्यः समाज, रञ्जितकार समाज नेपाल, चित्रकार (पूँ) समाज, केन्द्रीय मानन्धर संघ, कपाली समाज, उदय समाज, नेपाल माली समाज, कसाः तध गुथि, ताम्राकार समाज, राजकर्णिकार समाज, रजक समुदाय विकास संघ, द्योला समाज संघ, नेपाल खड्गी सेवा समिति, नकःमि समाज सेवा पुचः, नेपाल नापित समाजका पदाधिकारी तथा प्रतिनिधिहरुले धारणा राखेका थिए ।
सांस्कृतिक सम्पदाहरुको संवाहकका रुपमा रहेको भाषा, साहित्य, मौखिक परम्परा तथा अभिव्यक्ति अभौतिक सम्पदा हो । युनेस्कोका अभौतिक सम्पदा विज्ञ डा. मोनालिसा महर्जन भन्छन् 'अभिनय कला, सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सव, प्रकृति र व्रह्माण्डसँग सम्बन्धित ज्ञान र व्यवहार तथा परम्परागत कला कौशल अभौतिक सम्पदा हुन् ।’
अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धी २००३ मा भएको हो । नेपाल सन् २०१० मा पक्ष राष्ट्र भएको हो । यसअन्तर्गत आफ्नो देशभित्र रहेका अभौतिक सांस्कृतिक सम्पदाहरुको सूची तयार पार्नु, अनुसन्धान गर्नु, सुरक्षा, संरक्षण र प्रवर्धन तथा परम्परालाई निरन्तरता दिनु यसअन्तर्गतका महत्वपूर्ण कामहरु हुन् ।
बर्षभरि खानकालागि प्रमुख अन्न धान भित्र्याएपछि त्यो धान कुटेर बनाइएको चामलबाट तयार पारिएको यमरी देवी देवतालाई चढाउने, आफू र आफन्तलाई खुवाउने चलन रहेको छ । ज्यापूहरुको परम्परागत पेशा किसान रहेको र किसानले उत्पादन गरेको अन्न पहिलो पटक देवतालाई चढाएपछि मात्र मानिस आफूले प्रयोग गर्ने परम्पराको निरन्तरतालाई यो पर्वको मौलिकतासँग जोडेर हेर्ने गरिएको छ । अन्न फलाउन सन्तुलित प्राकृतिक वातावरण आवश्यक पर्ने भएकोले यसलाई प्रकृतिसँग पनि जोडिएको हो ।