जेनजी आन्दोलनमा सिंहदरबार आगजनी गरेको भिडिओ अपलोड गर्ने चितवनका महेन्द्र गौतम पक्राउ
सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं भन्ने चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बसोबास गर्ने महेन्द्र गौतम ५ महिनापछि पक्राउ परेका हुन् ।
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी गरेको भिडिओ आफैंले अपलोड गर्ने एकजना व्यक्तिलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको छ ।
सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका चितवनका महेन्द्र गौतमलाई सबै प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
पक्राउ परेका गौतम चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगरका बसोबास गर्छन् ।
उनले भिडिओमा भनेका छन्– ‘सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’ उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप समेत गराएको छ ।