विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले बढ्दा पुग्यो साढे ३२ खर्ब, १८ महिनाको आयात धान्ने
आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनासम्मको आयातको आधारमा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
काठमाडौं । चालू आर्थिक वर्षको पुससम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यो सञ्चिति २०८२ असारको २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँको तुलनामा २१.१ प्रतिशतले बढी हो । अमेरिकी डलरमा गत असारको तुलनामा १५.२ प्रतिशत बढेर २२ अर्ब ४७ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमा राष्ट्र बैंकसँग रहेको हिस्सा २८८४ अर्ब ८ करोड रुपैयाँ कायम छ, जुन अघिल्लो वर्षको सोही अवधिको २४१४ अर्ब ६४ करोड रुपैयाँको तुलनामा १९.४ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति ३५८ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ, जुन ३६.२ प्रतिशतले बढेको हो ।
२०८२ पुसको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत छ । विदेशी विनिमय सञ्चितिको पर्याप्तता सूचकले देशको आर्थिक सुरक्षा देखाएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनासम्मको आयातको आधारमा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
पुसमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५३.१ प्रतिशत, कुल आयातसँग १५०.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४०.५ प्रतिशत छ । २०८२ असारमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।