म्यान्मारमा अनलाइन स्क्यामिङ्गमा संलग्न चार नेपालीको उद्धार, नेपाल फर्काइयो
बैंककस्थित नेपाली दुताबास अनुसार थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याई शुक्रबार नेपाल एयरलाईन्सको उडान मार्फत उनीहरुलाई नेपाल फर्काइएको हो ।
काठमाडौँ । म्यानमारमा सञ्चालिन अनलाइन स्क्यामिङ्ग केन्द्रहरुमा संलग्न चार जना नेपाली नागरिकलाई नेपाल फर्काइएको छ ।
बैंककस्थित नेपाली दुताबास अनुसार थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याई शुक्रबार नेपाल एयरलाईन्सको उडान मार्फत उनीहरुलाई नेपाल फर्काइएको हो ।
नेपाल फर्काईएका चार जनामध्ये एक जना महोत्तरी जिल्ला, एक जना नुवाकोट जिल्ला र दुई जना दाङ जिल्लाका भएको दुताबासले जानकारी दिएको छ । चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका र तीमध्ये एक जनाले थाईल्याण्डमै स्नातक तहको अध्ययन गरी होटलमा रिसेप्सनिष्टको रूपमा कार्यरत रहेका थिए । धेरै आम्दानीको प्रलोभनमा परी म्यानमार गएको उनले बताएका छन् । त्यस्तै दाङ जिल्लाका अर्का एक जनाले दाङ जिल्लाकै एक सरकारी कार्यालयमा केही वर्ष कम्प्युटर अपरेटरको रूपमा काम गरेको अनुभव रहेको बताएका छन् ।
उनीहरू सबै थाइल्याण्डमा डाटा इन्ट्रि अफिसरको रूपमा काम गर्ने भनिएर नेपालबाट ल्याइएका तर थाइल्याण्ड आइपुग्नेबित्तिकै जबर्जस्ती म्यानमार पुर्याइएको बताइएका छन् । यस घटनाले उच्च शैक्षिक योग्यता हासिल गरेका नेपाली नागरिकहरू समेत सामाजिक सञ्जाल, साथीभाइ, आफन्त तथा आकर्षक विज्ञापनको ललाईफकाईमा परी धेरै कमाउने लोभमा फस्ने वा फसाइने गरेको देखिएको दुताबासले जनाएको छ ।
दैनिक रूपमा त्यस्ता स्थानमा फसेका नेपाली नागरिक वा उनीहरूका परिवारजनबाट उद्धारको लागि अनुरोध गर्दै राजदूतावासमा सम्पर्कमा आउने गरेको बताउदै दुताबासले उनीहरुको उद्धारको लागि आवश्यक कन्सुलर सेवा प्रवाह गरिरहेको जनाएको छ ।
त्यसैले, थाइल्याण्ड जाने नाममा म्यानमार, कम्बोडिया तथा लाओसको गोल्डेन ट्रायङ्गल क्षेत्रमा सञ्चालनमा रहेका स्क्यामिङ्ग केन्द्रहरूमा पुर्याइने जोखिम उच्च रहेको हुँदा राम्रो कमाइको प्रलोभनमा नपर्न दुताबासले आग्रह समेत गरेको छ ।
