सुशासन कायम गरेरै राजश्वको महत्वकांक्षी लक्ष्य पूरा गर्छौंः अर्थमन्त्री वाग्ले
करिव ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्र राजश्व संकलन भइरहेको उल्लेख गर्दै उनले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताए ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै सरकारले यस वर्ष राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने बताएका छन् ।
गत वर्षको तुलनामा करिव २७ प्रतिशतले बढी राजश्व उठाउने लक्ष्य महत्वाकाक्षी भए पनि सुशासन कायम गराएरै हालिल गरिने बताउएका हुन् । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष १ हजार २५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । करिव ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्र राजश्व संकलन भइरहेको उल्लेख गर्दै उनले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताए ।
कोभिड महामारीपछि नेपालमा राजश्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेको उनले उल्लेख गरे। उक्त वृद्धिदरले मात्र अपेक्षित लक्ष्य हासिल गर्न नसकिने भन्दै यसपटक २७ प्रतिशतको वृद्धि लक्ष्य निर्धारण गरिएको उनको भनाइ छ ।
राजश्व संकलनको गति अझ तिब्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू स्वयं पनि प्रणालीलाई सक्रिय बनाउन मैदानमा उत्रने बताए । निजी क्षेत्रका सुझाव, गुनासा र समस्याहरू सुन्न सरकार तयार रहेको उनले स्पष्ट पारे ।
अर्थमन्त्री वाग्लेले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा पनि जोड दिए । करजस्ता महत्वपूर्ण विषयमा पटक–पटक र हरेक हप्ता नीतिगत परिवर्तन गरिरहन नहुने उनको भनाइ छ ।
बलिया नीतिगत सुधार र सुशासनको प्रतिफलका कारण प्रतिकूल परिस्थितिका बीच पनि सरकार आर्थिक गतिविधि अघि बढाउन सफल भइरहेको उनले बताए । राजश्व संकलनको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेको समेत उनको भनाइ छ ।