आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छः अर्थमन्त्री वाग्ले

करका दर घटाउँदा राजस्वमा ठूलो असर पर्ने आशंका गरिए पनि कर प्रणालीलाई सहज बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले यस वर्ष करका दरमा उल्लेख्य कटौती गर्दै कर प्रणाली सुधारको काम अघि बढाएको बताएका छन्।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले आयकरको उच्चतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिएको जानकारी दिए । उनले आयकरको उच्चतम स्ल्याबमा एकैपटक १० प्रतिशत बिन्दुले कटौती गर्नु सरकारको महत्वपूर्ण नीतिगत निर्णय भएको बताए ।

उनका अनुसार वार्षिक पाँच लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने सीमालाई बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको छ । कर्मचारीको पारिश्रमिक वृद्धि हुँदा पनि करको भार कम हुने गरी व्यवस्था गरिएको उनले बताए । करका दर घटाउँदा राजस्वमा ठूलो असर पर्ने आशंका गरिए पनि कर प्रणालीलाई सहज बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले करको दर घटाउने र करको दायरा विस्तार गर्ने नीतिलाई सरकारले व्यवहारमै कार्यान्वयन गर्न थालेको उल्लेख गरे । भन्सार तथा अन्तःशुल्कलगायतका क्षेत्रमा पनि सुधार प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए । अघिल्लो वर्ष बजेट निर्माणका लागि चार हप्तामात्र समय उपलब्ध भएकाले पर्याप्त तयारी गर्न नसकिएको उल्लेख गर्दै उनले यसपटक पाँचदेखि छ महिनाअघिदेखि नै तयारी थालिएको बताए । आगामी जेठ १५ गते प्रस्तुत हुने बजेटमा सुधारका कार्यक्रमलाई थप फराकिलो र गहिरो बनाइने उनको भनाइ छ ।

पूर्वाधार सम्मेलनको सन्दर्भमा सरकारले समग्र कानुनी सुधार (ओम्निबस रिफर्म) अघि बढाउने तयारी गरेको पनि उनले जानकारी दिए । यस क्रममा करिब ५० देखि ६० वटा ऐनका ५०० हाराहारी दफा संशोधन गर्ने सरकारको तयारी रहेको उनले बताए । सरकारले भोटेकोसी प्याकेजको एक चरण कार्यान्वयनमा ल्याइसकेको र सेयर बजार सुधारका लागि २१ बुँदे कार्यक्रम सार्वजनिक गरेको पनि उनले उल्लेख गरे । विगतमा विकृति र अनियमितताका कारण समस्याग्रस्त बनेको सेयर बजारलाई नियामकीय दायरामा ल्याउँदै दीर्घकालीन रूपमा व्यवस्थित बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।

समग्र अर्थतन्त्रलाई लक्षित गरी सरकारले आर्थिक प्याकेजसमेत तयार गरिरहेको उनले बताए ।

आगामी एकदेखि दुई हप्ताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए । सुधार एकपटकको निर्णयबाट पूरा नहुने भन्दै अर्थमन्त्री वाग्लेले यसलाई निरन्तरको प्रक्रियाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । सुधारका क्रममा गल्ती हुन सक्ने, आवश्यकताभन्दा बढी हस्तक्षेप हुन सक्ने वा अपेक्षित परिणाम हासिल नहुन सक्ने स्वीकार गर्दै उहाँले तथ्य र प्रमाणका आधारमा आवश्यक नीतिगत परिमार्जन गर्दै जाने स्पष्ट पारे ।