बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक, २० दिनका लागि निक्षेप उठाइने

यस प्रक्रियामा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज कात्तिक २७ गते २० दिन अवधिका लागि २ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो । यस प्रक्रियामा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलबाटै तय हुनेछ । बैंक तथा वित्तीय संस्थाले आफूले चाहेको ब्याजदरमा बोलकबोल गर्न सक्नेछन् । बहुब्याजदरमा समेत आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी मंसिर १७ गते भुक्तानी गरिनेछ ।

बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम २ खर्ब रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । आवेदन रकम भने १० करोड रुपैयाँले भाग जाने गरी निर्धारण गर्नुपर्नेछ ।

निक्षेप संकलन उपकरण बाँडफाँट गर्दा न्यूनतम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ । समान ब्याजदरमा प्राप्त आवेदनको कुल रकम आह्वान गरिएको सीमाभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यस्तो उपकरणमा लगानी गरिएको रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने समावेश गर्न सकिनेछ ।