सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९औँ वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ ल्याएको छ ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९औँ वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ ल्याएको छ । असोज १ गते आयोजित प्रडक्ट इन्ग्युगरेसन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनाको शुभारम्भ गरिएको हो।
कम्पनीले १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिका लागि थोरै लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरेको हो । विशेषगरी युवा अवस्थामा रहेका परिवारका संरक्षकहरूको व्यावसायिक तथा पारिवारिक दायित्वलाई सन्तुलनमा राख्दै आर्थिक सुरक्षा प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । यो बीमा योजना कम्पनीका सम्पूर्ण शाखा कार्यालयका साथै डिजिटल माध्यमबाट समेत सहजै खरिद गर्न सकिनेछ ।
योजनाका विशेषता तथा सुविधा
यस योजनाअन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि आयस्रोतका आधारमा जतिसुकै रकमसम्मको बीमाङ्क चयन गर्न सकिनेछ । बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रूपमा भुक्तानी गर्न सकिने सुविधा रहेको छ । बीमितको निधन भएमा बीमाङ्क रकमको १०० प्रतिशत रकम दाबी भुक्तानी गरिने कम्पनीले जनाएको छ । यसका साथै ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्मको किरिया खर्च र १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि समेटिएको छ ।
सन् २०७४/६/६ मा बीमक दर्ता भई औपचारिक व्यवसाय सुरु गरेको सन नेपाल लाइफको अधिकृत पुँजी १० अर्ब रुपैयाँ र चुक्ता पुँजी ५.२८ अर्ब रुपैयाँ रहेको छ। (ISO 27001:2022) प्रमाणित कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिमैत्री जीवन बीमा कम्पनीका रूपमा स्थापित भएको जनाएको छ । हाल ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ ।
दुर्घटना, अशक्तता तथा आपत्कालीन रोगका कारण उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य ध्येय रहेको छ ।
