जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छ: सांसद हमाल

विज्ञापन
ncell

प्रधानमन्त्री शाह पहिलो विदेश भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेको उल्लेख गर्दै उनले नेपालको वर्तमान विपद् र जलवायुजन्य जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन नेपालले क्लाइमेट डिप्लोमेसीलाई थप सशक्त बनाउनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै हमालले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र साहको सहभागितालाई जलवायु कुटनीतिका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री शाह पहिलो विदेश भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेको उल्लेख गर्दै उनले नेपालको वर्तमान विपद् र जलवायुजन्य जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले नेपालको पछिल्लो विपद्को अवस्थालाई जलवायु न्यायसँग जोडेर अन्तर्राष्ट्रिय तहमा प्रस्तुत गर्नुपर्ने बताए ।

उनकाअनुसार जलवायु परिवर्तनका कारण सिर्जित जोखिमको भार नेपालजस्ता कम उत्सर्जन गर्ने मुलुकले बढी वहन गरिरहेको विषयलाई विश्व समुदायसमक्ष तथ्य र प्रभावकारी कुटनीतिक पहलमार्फत राख्न आवश्यक छ । हमालले जलवायु न्याय प्राप्त गर्ने विषय सहज नभएको भन्दै विकसित तथा प्रभावशाली मुलुकहरूलाई जलवायु परिवर्तन न्युकिरणका लागि जिम्मेवार बनाउन निरन्तर कुटनीतिक दबाब आवश्यक रहेको बताए । उनले विगतमा नेपालले जलवायु परिवर्तन र हिमाली क्षेत्रको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको स्मरणसमेत गरे ।

सन् २००९ को कोपेनहेगन सम्मेलनअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले कालापत्थरमा मन्त्रिपरिषद् बैठक राखेको र त्यसक्रममा जलवायु परिवर्तन तथा हिमनदी पग्लिने विषयलाई अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराइएको उनले बताए । हमालले जलवायु वित्त प्राप्तिका लागि नेपालले अन्तर्राष्ट्रिय वार्ता र कुटनीतिक पहललाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । नेपालमा विज्ञ, अनुसन्धान र छलफल भइरहे पनि अन्तर्राष्ट्रिय तहमा नेपालको हस्तक्षेप अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।