सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैनः महेश बस्नेत
उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको भनाई छ ।
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए । उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको भनाई छ ।
उनले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचनालाई थप सुदृढ गर्नुपर्ने बताए । सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट आम जनतामाझ पुर्याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।
वर्तमान सरकार र सत्तारुढ दलको नेतृत्व सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको उनको आरोप छ । उनले स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै आगामी स्थानीय तह र प्रदेश तहका निर्वाचनको तयारीमा पनि ध्यान दिनुपर्ने बताए । आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्नेगरि अगाडी बढाउन आवश्यक रहेको बताए ।