पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारवाही गरिने ओलीको चेतावनी
उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए ।
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारवाही गरिने बताएका छन् ।
एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारवाही गर्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए ।
एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिए । बैठक आइतबारसम्म सञ्चालन हुनेछ ।