तीन दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, घट्यो सूचकसँगै कारोबार रकम

विज्ञापन
ncell

आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ । कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ ।

काठमाडौँ। सरकारले सुस्त बनेको पुँजी बजारलाई चलायमान बनाउन विशेष सुधार कार्यक्रम ल्याउने घोषणा गरेपछि लगातार तीन कारोबार दिन बढेको नेप्से परिसूचकमा बुधबार भने घटेको छ । छोटो अवधिमा बजारमा आएको तीव्र वृद्धिपछि नाफा सुरक्षित गर्न लगानीकर्ता बिक्रीतर्फ लाग्दा नेप्से २१ अंकभन्दा बढीले घटेको हो ।

आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशत बढेको छ । त्यस्तै,हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको एनएमबी हाइब्रिड फण्ड एल २ को इकाईमूल्य सर्वाधिक ७.७३ प्रतिशत घटेको छ भने रिज लाइन इनर्जीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । यस दिन सो कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको २५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । 

बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जलविद्युत् उपसमूहमा सबैभन्दा बढी दबाब देखिएको छ। उक्त उपसमूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशतले घटेको छ।

बुधबार कारोबारमा आएका मध्य ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।