मौद्रिक नीति समिति गठनबारे थप छलफल गर्न रास्वपा सांसद अधिकारीको आग्रह

विज्ञापन
ncell

राष्ट्र बैंकलाई समयसापेक्ष, प्रभावकारी र थप स्वायत्त बनाउनुपर्ने विषयमा समितिका सदस्यहरूबीच साझा चासो रहेको उनको भनाइ छ । अधिकारीले राष्ट्र बैंकको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक रहने व्यवस्था समेटिएकोमा खुशी व्यक्त गरिन् ।

काठमाडौं ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल राष्ट्र बैंकमा छुट्टै मौद्रिक नीति समिति गठन गर्ने विषयमा थप छलफल गर्न आग्रह गरेकी छन् । बुधबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद अधिकारीले मौद्रिक नीति निर्माणलाई थप प्रभावकारी र पारदर्शी बनाउन छुट्टै समिति आवश्यक रहेको बताएकी हुन् ।

उनले समितिले विधेयकमाथि एक महिनाभन्दा बढी समय निरन्तर दफावार छलफल गरेको उल्लेख गर्दै सदस्यहरूले आफ्ना धारणा, अध्ययन, अनुसन्धान र अनुभवका आधारमा सुझाव दिएको बताइन् । राष्ट्र बैंकलाई समयसापेक्ष, प्रभावकारी र थप स्वायत्त बनाउनुपर्ने विषयमा समितिका सदस्यहरूबीच साझा चासो रहेको उनको भनाइ छ । अधिकारीले राष्ट्र बैंकको सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक रहने व्यवस्था समेटिएकोमा खुशी व्यक्त गरिन् ।

तर आफूले विशेष रूपमा उठाउँदै आएको मौद्रिक नीति समिति गठन गर्ने प्रस्ताव विधेयकमा समावेश नभएको भन्दै उनले त्यस विषयमा पुनः छलफल गर्न आग्रह गरिन् । उनकाअनुसार राष्ट्र बैंकको सञ्चालक समितिले समग्र संस्थागत शासन हेर्ने, छुट्टै मौद्रिक नीति समितिले मौद्रिक नीति निर्माण गर्ने र व्यवस्थापन टोलीले समग्र व्यवस्थापन हेर्नेगरी जिम्मेवारी विभाजन गर्न सकिने अवधारणाअनुसार उक्त प्रस्ताव अघि सारिएको हो । 

अधिकारीले विभिन्न देशमा मौद्रिक नीति समिति अभ्यासमा रहेको उल्लेख गर्दै यस्तो संरचनाले मौद्रिक नीति निर्माणमा पारदर्शिता र विशेषज्ञता बढाउन सक्ने बताइन् । मौद्रिक नीति समितिका बैठकका माइन्युट सार्वजनिक गर्ने व्यवस्था गर्न सकिए पारदर्शिता अझ बढ्ने उनको भनाइ छ । यस्तो अभ्यास केही देशमा रहेको र भारतमा समेत बैठकसम्बन्धी विवरण सार्वजनिक गर्ने गरिएको उनले उल्लेख गरिन् । प्रस्तावित संरचनामा गभर्नर संयोजक, दुई जना डेपुटी गभर्नर तथा तीन जना विज्ञ रहने गरी समिति गठन गर्न सकिने अधिकारीले बताइन् ।