मधेस घटनाबारे शिक्षामन्त्रीको स्पष्टीकरण : ‘छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित हुँदैन’
उनले उक्त घटनाको एक मिनेटभन्दा छोटो भिडियोक्लिप काटेर सामाजिक सञ्जालमा प्रसार गर्दै सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने प्रयास भएको दाबी गरेका छन् ।
काठमाडौं । मधेस प्रदेशमा शिक्षा सुधारसम्बन्धी कार्यक्रमका क्रममा भएको घटनाबारे शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले स्पष्टीकरण दिएका छन् । उनले कार्यक्रमस्थलमा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि अन्य विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको बताएका छन् ।
शिक्षामन्त्री पोखरेलका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेस प्रदेशका विभिन्न जिल्ला पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गरी सुझाव सङ्कलन भइरहेको छ । विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको उनले बताएका छन् । उनले आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नवीन अवधारणाबारे पनि सरोकारवालासँग छलफल भइरहेको जानकारी दिएका छन् ।
पोखरेलले सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० जनाभन्दा बढी सरोकारवालाको सहभागिता रहेको र धेरैभन्दा धेरैको आवाज सुन्ने उद्देश्य रहेको बताए । तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि कार्यक्रम प्रभावित हुने अवस्था बनेको उनको भनाइ छ ।
उनले उक्त घटनाको एक मिनेटभन्दा छोटो भिडियोक्लिप काटेर सामाजिक सञ्जालमा प्रसार गर्दै सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने प्रयास भएको दाबी गरेका छन् । लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने उनको भनाइ छ ।
‘कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको हाम्रो मूल उद्देश्यलाई रोक्न सक्दैन,’ शिक्षामन्त्रीले भनेका छन् ।
घटनापछि पनि आफूहरूले सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको उनले बताएका छन् । उनका अनुसार एकै दिन करिब ८ देखि १० वटा विद्यालयमा पुगेर शिक्षा सुधारका विषयमा सुझाव सङ्कलन गरिएको छ ।
उनले मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामका कारण असन्तुष्टि पैदा भएको हुनसक्ने टिप्पणीसमेत गरेका छन् । यद्यपि भ्रम फैलाउनुभन्दा आफूहरूले गरिरहेको कामलाई जनताले नै मूल्याङ्कन गर्न दिनुपर्ने उनको भनाइ छ ।
‘हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,’ उनले भने, ‘हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन्।’ पोखरेलका अनुसार शिक्षा सुधारसम्बन्धी सुझाव सङ्कलन अभियानलाई निरन्तरता दिँदै टोली भोलि सप्तरी हुँदै मोरङतर्फ जानेछ।
