गृहमन्त्री गुरुङलाई सुरक्षा पन्तको सुझाव- ‘बलीको बाख्रा बनाउनेहरूबाट सावधान’

विज्ञापन
ncell

‘मेरो सोझो समाजसेवी साथीलाई फुर्काउँदै, चलाउँदै गरेको जस्तो लागेको छ । उहाँलाई बलीको बाख्रा बनाउनेहरू सावधान ! मेरो साथी यस्तो थिएन,’ पन्तले लेखेकी छन् ।

काठमाडौं । ‘जेनजी आन्दोलन’का सहिदको सम्झनामा मंगलबार राजधानीको नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुहरूको उपस्थितिलाई लिएर प्रश्न उठेको छ । धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति (विजय भण्डारी) र श्रीनिवास आचार्य कार्यक्रममा सहभागी भएपछि उनीहरूको उपस्थितिलाई लिएर सामाजिक सञ्जालमा आलोचना तथा बहस सुरु भएको हो ।

यही विषयलाई लिएर अभिनेत्री सुरक्षा पन्तले पनि सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी छन् । उनले वर्तमान गृहमन्त्री सुदन गुरुङसँग जोड्दै आफूले विगतदेखि चिनेको समाजसेवी व्यक्तिको भूमिकामाथि नै प्रश्न उठाएकी हुन् ।

पन्तले गृहमन्त्री गुरुङलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘टेन्ट चाहियो, त्रिपाल चाहियो, बिजोग छ यार’ भनेर भूकम्पका बेला कुदिरहने, गुहार गर्ने मेरो प्यारो समाजसेवी साथी, वर्तमान गृहमन्त्री सुदन गुरुङजीको दिमाग भुट्ने को होला ?’ उनले गृहमन्त्री गुरुङलाई कसैले फकाएर वा आफ्नो प्रभावमा पारेर चलाइरहेको जस्तो आफूलाई लागेको उल्लेख गरेकी छन् । साथै, उनलाई ‘बलीको बाख्रा’ बनाउनेहरूबाट सावधान रहनसमेत आग्रह गरेकी छन् ।

‘मेरो सोझो समाजसेवी साथीलाई फुर्काउँदै, चलाउँदै गरेको जस्तो लागेको छ । उहाँलाई बलीको बाख्रा बनाउनेहरू सावधान ! मेरो साथी यस्तो थिएन,’ पन्तले लेखेकी छन् ।

पन्तले आफ्नो भनाइको अन्त्यमा गृहमन्त्री गुरुङप्रति आफू शुभचिन्तक रहेको संकेत गर्दै ‘शुभचिन्तक साथी’ लेखेकी छन् ।