प्रहरी हेडक्वार्टर नै विचौलियाको कब्जामा छ: सांसद सुनार

विज्ञापन
ncell

यसअघि समितिमा आफूले उठाएको प्रश्नमा आफू अडिग रहेको बताउँदै उनले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भएमा अदालत जान चुनौती दिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका आरोप लगाएका छन् । बिहीबार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उनले प्रहरीको स्रोत-साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गरेका हुन् ।

प्रहरीले खरिद प्रक्रियामा भएका भनिएका बदमासीसम्बन्धी माग गरिएका कागजात अझै उपलब्ध गराए-नगराएकोबारे समितिमा जानकारी गराउन पनि उनले समिति सभापतिलाई आग्रह गरे । समितिको यसअघिको बैठकले १५ दिनभित्र प्रहरीको स्रोत-साधन खरिदसम्बन्धी कागजात उपलब्ध गराउन माग गरेको थियो । सुनारले पछिल्लो समयमा पनि प्रहरीले करोडौँ रुपैयाँका टेण्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि प्रश्न उठाए ।

यसअघि समितिमा आफूले उठाएको प्रश्नमा आफू अडिग रहेको बताउँदै उनले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भएमा अदालत जान चुनौती दिए । आफूले उठाएका प्रश्नको जवाफ दिन र कानुनी प्रक्रियामा उपस्थित हुन तयार रहेको उनको भनाई छ । उनले बैठकमा सांसदहरूबीच हुने बहस र व्यवहारप्रति पनि आपत्ति जनाए । समितिको बैठकमा कुनै विषय नियमावलीविपरीत भएमा सभापतिले तत्काल रुलिङ गर्नुपर्ने तर एक सांसदले अर्को सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने व्यवहार स्वीकार्य नहुने बताए ।

जनताबाट निर्वाचित प्रत्येक सांसदले समितिमा आफ्ना प्रश्न राख्ने सार्वभौम अधिकार राख्ने उनको भनाई छ । सामान्य ढंगले प्रश्न गरेर भ्रष्टाचारको गहिराइमा पुग्न नसकिने भन्दै उनले समितिमा उठाइने प्रश्न निर्मम, गम्भीर र गहिरो हुनुपर्ने बताए । समितिमा रहँदासम्म भ्रष्टाचार र खरिद प्रक्रियासम्बन्धी विषयमा आफूले कडा प्रश्न उठाइरहने सुनारको भनाइ छ । उनले अनियमितता र भ्रष्टाचार विरुद्ध समिति निर्मम बन्नुपर्ने बताए । समितिको यसअघिको बैठकमा सुनार र प्रहरी महानिरिक्षक दानबहादुर कार्कीबीच प्रहरीको पोशाक खरिद प्रक्रियामा अनियमितता भएको विषयमा विवाद भएको थियो । उक्त विषमा सांसद सुनारले बिहीवारको बैठकमा प्रस्टीकरण दिएका हुन् ।