बूढीगण्डकी आयोजनामा लगानी गर्न नेपालद्वारा युएईलाई प्रस्ताव
युएई भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले आबुधावीमा त्यहाँका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग गरेको शिष्टाचार भेटका क्रममा यस्तो प्रस्ताव गरेका हुन् ।
काठमाडौं । नेपालले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त अरब इमिरेट्स (युएई)सँग लगानीको प्रस्ताव गरेको छ ।
युएई भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले आबुधावीमा त्यहाँका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग गरेको शिष्टाचार भेटका क्रममा यस्तो प्रस्ताव गरेका हुन् ।
भेटमा दुई देशबीचको व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा गृहमन्त्री गुरुङले कृषि तथा सेवा क्षेत्रको विकास र सुरक्षा प्रविधिमा सहकार्य गर्नसमेत युएईसमक्ष प्रस्ताव राखेका थिए ।
दुवै पक्षबीच सुरक्षा निकायलाई आधुनिक तथा प्रविधिमैत्री बनाउने विषयमा पनि विचारविमर्श भएको थियो । नेपालले प्रस्ताव गरेका परियोजनाबारे औपचारिक रूपमा प्रस्ताव आदानप्रदान गरी आवश्यक प्रक्रिया अघि बढाउने र आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन् ।
गृहमन्त्री गुरुङ ‘विश्व प्रहरी शिखर सम्मेलन’मा सहभागी हुन शुक्रबार युएई प्रस्थान गरेका हुन् । उक्त सम्मेलन दुबईमा आयोजना भइरहेको छ ।