स्वास्थ्य बीमा सञ्चालनमा ल्याइदिनुपर्यो नागरिकहरु बिचल्लीमै परिसकेः सांसद न्यौपाने
स्वास्थ्य बीमा सुविधा नपाउँदा सर्वसाधारणको बिचल्ली भएको भन्दै उनले यस कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह क्षेत्रमा निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रको विरोध गर्दै जनस्वास्थ्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रसूति गृहको पछाडि बाटो नै ढाकेर फोहोर प्रशोधन केन्द्र निर्माण भइरहेकोमा आपत्ति जनाइन् । उचित सूचना र पारदर्शी प्रक्रिया बिना नै निर्माण कार्य अघि बढाइएको उल्लेख गर्दै उनले संवेदनशील स्वास्थ्य संस्था नजिक यस्तो केन्द्र बनाउँदा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताइन् ।
यस कार्यको स्थानीय बासिन्दाले समेत विरोध गरिरहेकाले उक्त क्षेत्रमा प्रशोधन केन्द्र निर्माण नगर्न उनले माग गरिन् । सांसद न्यौपानेले मुलुकको स्वास्थ्य बीमा कार्यक्रम लथालिङ्ग हुँदा नागरिकहरू मर्कामा परेको विषय सदनमा उठाइन् । स्वास्थ्य बीमा सुविधा नपाउँदा सर्वसाधारणको बिचल्ली भएको भन्दै उनले यस कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
सम्बोधनका क्रममा उनले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेका ऋणीहरूको समस्याका बारेमा आवाज उठाइन् । गत भदौ २४ गते राष्ट्र बैंकबाट लुटिएको भनिएको सुनका सन्दर्भमा पीडितहरूले हालसम्म न आफ्नो सुन फिर्ता पाएको, न त बजार मूल्य अनुसारको क्षतिपूर्ति नै पाएको उनले बताइन्। पीडितहरूको हारगुहार सुनिदिन र उनीहरूको सम्पत्तिको रक्षा गर्न उनले सरकारसँग माग गरेकी छन् ।
