शेरबहादुर देउवा आज स्वदेश आउँदै, संस्थापनइतर समूहले भव्य स्वागत गर्ने
उनी बिहीबार मध्याह्न साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्ने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६ महिनापछि आज स्वदेश फर्किंदैछन् । उनी बिहीबार मध्याह्न साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्ने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
देउवा स्वदेश फर्किन लागेसँगै कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरेको छ । राष्ट्रिय भेलाका लागि गठन गरिएको सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार देउवाको स्वागतमा सांस्कृतिक झाँकीसहितको कार्यक्रम आयोजना गरिनेछ ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएपछि देउवा गत १३ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि थप उपचारका लागि उनी ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए ।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन् । प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुनेछ ।
तीन दिनसम्म चल्ने राष्ट्रिय भेलामा करिब ५ हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजक पक्षले अनुमान गरेको छ । भेलामा कांग्रेसको आगामी रणनीति, संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।
