नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षामा सरकार असफल भएको सांसद देवकोटाको आरोप

विज्ञापन
ncell

जटिल र नसर्ने रोगको उपचार सर्वसाधारणको पहुँच बाहिर पुग्नु र जेष्ठ नागरिकहरूले सहाराविहीन महसुस गर्नु राज्यका लागि लज्जास्पद विषय भएको उनको तर्क छ ।

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले नागरिकको स्वास्थ्योपचार र सामाजिक सुरक्षाको दायित्व पूरा गर्न सरकार असफल भएको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले काभ्रेको मण्डनदेउपुरका एक वृद्ध दम्पतीले गरेको आत्महत्याको घटनालाई लिएर सरकारको आलोचना गरिन् ।

मण्डनदेउपुर नगरपालिका-७ का ६८ वर्षीय केदारनाथ पराजुलीले बोनम्यारो क्यान्सरबाट पीडित आफ्नी ६७ वर्षीया पत्नी तिलकुमारी पराजुलीलाई बुईमा बोकेर सुनकोशी नदीमा हाम फालेको घटनाले मुलुकलाई स्तब्ध बनाएको उनले बताइन्। उनले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि व्यवहारमा सरकारले स्वास्थ्य सेवा र उपकरणमा कर लगाएर उपचारलाई महँगो बनाएको बताइन् । जटिल र नसर्ने रोगको उपचार सर्वसाधारणको पहुँच बाहिर पुग्नु र जेष्ठ नागरिकहरूले सहाराविहीन महसुस गर्नु राज्यका लागि लज्जास्पद विषय भएको उनको तर्क छ । 

उनले भनिन्, ‘यो सामान्य आत्महत्या मात्र होइन, आर्थिक अभावका कारण उपचार गर्न नसकेर लिइएको जल समाधि हो । विपन्न नागरिकले उपचार नपाएर ज्यान फाल्नुपर्ने अवस्थाले राज्यको सामाजिक सुरक्षा र स्वास्थ्य नीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ । पीडित परिवार राहत र सहमतिको कार्यान्वयनका लागि सिंहदरबारको गेटमा भौँतारिरहेका छन् तर सरकारले एक रुपैयाँ पनि सहयोग गरेको छैन ।’

सांसद देवकोटाले सरकारले पीडित पक्षसँग गरेका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण समेत गराइन् । गत असार २५ गते आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले गरेको ९ बुँदे सहमति अझै कार्यान्वयन नभएको उनले उल्लेख गरिन् । बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति पनि सांसद देवकोटाले सरकारको ध्यानाकर्षण गराइन् ।