सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग
सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग
काठमाडौं । नेपाली काँग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । आईतबारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी पार्टी केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो माग गरिएको बताएका हुन् ।
उनले सुनसरीसहित मधेसका केही जिल्लामा भएको घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्ने पार्टीको माग यथावत रहेको बताए । उनकाअनुसार नेपाली काँग्रेसले गृह मन्त्रालयअन्तर्गत गठन गरिएको छानविन समिति तथा आयोगले सरकारका कमजोरी ढाकछोप गर्ने आशंका समेत व्यक्त गरे । उनले विगत १२ दिनदेखि अनसनरत विनय यादवको माग सम्बोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराए।
उनले सरकार सहमति र सम्झौता गर्न तत्पर हुने तर सम्झौता कार्यान्वयन नगर्ने कुराले नागरिकमा नैराश्यता बढाएको पनि टिप्पणी गर्नुभयो । सरकारप्रतिको अविश्वासले राज्य नागरिकहरूको अभिभावक हो भन्ने मान्यतालाई कुठाराघात गर्ने भन्दै यो विषयलाई संवेदनशील भएर बुझ्न समेत सरकारको ध्यानाकर्षण गराए । प्रवक्ता चालिसेले पार्टीको आन्तरिक विषयले बैठकमा अझै प्रवेश नपाएको बताए । उनले केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेकोले भोलिसम्म बैठकले उचित निर्णय गरेर सार्वजनिक गर्ने बताए ।
