‘गुप्तवास’ शैली छोडेर संसद्मा आउन प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘गुप्तवास’ शैली छोडेर संसद्मा उपस्थित भई जनप्रतिनिधिहरूको सामना गर्न आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद र आफूलाई समर्थन गर्ने दलहरूबाट टाढिँदै गएको टिप्पणी गरे ।
शर्माले प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा मात्रै सुरक्षित र सुदृढ हुने बताए । सांसद शर्माले प्रधानमन्त्रीले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने दलहरूको कार्यालयमा समेत जान छोडेको भन्दै आलोचना गरे । प्रधानमन्त्री संसद र राजनीतिक दलहरूबाट टाढा रहेकै कारण सामाजिक सञ्जालमा एक्लोपन झल्किने खालका ‘स्टाटस’ लेख्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
सांसद शर्माले प्रधानमन्त्रीको पछिल्लो समयका केही अभिव्यक्तिहरू विवादास्पद रहेको उल्लेख गर्दै ती अभिव्यक्ति सच्याउन सभामुखको ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्रीलाई आफ्नो गलत अभिव्यक्ति सच्याउन रुलिङ गर्न र उक्त भनाइहरू संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन समेत सभामुखसँग माग गरे ।
