प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना

विज्ञापन
ncell

काठमाडौं । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र सरकारको फितलो कार्यसम्पादनलाई लिएर आलोचना गरेका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद स्वाँरले राष्ट्रिय सार्वभौमिकता, सुशासन र जनसरोकारका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।

सांसद स्वाँरले प्रधानमन्त्रीले नै ‘नेपालले भारतको जग्गा मिचेको’ भनी दिएको भनिएको अभिव्यक्तिको विरोध गर्दै यसले राष्ट्रको स्वाभिमानमा चोट पुर्‍याएको उल्लेख गरे । भारतले लिम्पियाधुरा, कालापानी र सुस्ता लगायतका नेपाली भूभाग अतिक्रमण गरेको तथ्य जगजाहेर हुँदाहुँदै पनि प्रधानमन्त्री मूकदर्शक बनेको र उल्टै विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै, नयाँ जारी गरिएको चुच्चे नक्शा एक रुपैयाँको सिक्कामा नराखिएको विषयमा पनि उनले सरकारको नियतमाथि प्रश्न उठाए । 

भ्रष्टाचारका सन्दर्भमा बोल्दै सांसद स्वाँरले सबै राजनीतिक दलका नेता, कर्मचारी र तिनका आफन्तहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिए । उनले विभिन्न समयमा गठित छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक नगरेर सरकारले दोषीलाई संरक्षण गरिरहेको आरोप समेत लगाए । मुलुकको आर्थिक र प्रशासनिक अवस्थाबारे चर्चा गर्दै उनले विद्युत महशुलमा लगाइएको भ्याट, राहदानी र सवारी चालक अनुमति पत्र लिन जनताले भोग्नुपरेको सास्ती, र स्वास्थ्य बीमा प्रभावकारी नभएको विषयमा सरकारको ध्यानाकर्षण गराए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले प्रधानमन्त्रीका कतिपय दाबीहरूको खण्डन गरेको उल्लेख गर्दै उहाँले सरकारका तथ्याङ्क र वास्तविकतामा ठूलो खाडल रहेको बताए ।