यी हुन् नाइमा मोबिलिटी एक्स्पोमा लन्च हुन लागेका फ्युचरीस्टिक नयाँ गाडी, कुनको फिचर कस्तो?
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६) दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुँदैछ । शो अटो शोमा आफ्ना सवारीसाधन लन्च गर्न र ग्राहकको ध्यान तान्नका लागि हाल दर्जनौं ब्रान्डले नयाँ गाडी भित्र्याउनेक्रम चलिरहेको छ ।
राजधानीको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अत्याधुनिक प्रविधि सार्वजनिक हुने बताइएको छ । जसमध्ये केही नयाँ ब्रान्डको प्रवेशसँगै पुराना ब्रान्डका नयाँ मोडलका गाडीहरु पनि देख्न पाइनेछ ।
नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ प्रविधि, विद्युतीय सवारी र स्मार्ट मोबिलिटीको बढ्दो आकर्षणलाई केन्द्रमा राख्दै आयोजना हुन लागेको एक्स्पोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे र कमर्सियल सवारीसाधन गरी ५५ वटा ब्रान्डको सहभागिता रहनेछ ।
आयोजकका अनुसार एक्स्पोका लागि स्टल व्यवस्थापनसमेत पूरा भइसकेको छ । जसअनुसार २६ वटा स्टल चारपाङ्ग्रे ब्रान्डका लागि र २३ वटा स्टल दुईपाङ्ग्रे तथा कमर्सियल सवारीका लागि छुट्याइएको छ । यसपटक वातावरणमैत्री र दिगो यातायातलाई प्राथमिकता दिँदै विभिन्न कम्पनीका नयाँ पुस्ताका विद्युतीय सवारी मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
एक्स्पोमा सार्वजनिक हुन लागेका नयाँ गाडीहरुः
इलेक्ट्रिक अर्बन क्रसओभर चेरी क्यू
विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ प्राप्त गरेको विद्युतीय अर्बन क्रसओभर चेरी क्यू गाडी नाइमामा सार्वजनिक हुने भएको छ । ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री र ९० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको चेरी क्यूले एनईडीसी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा करिब ४०० किलोमिटर दूरी तय गर्ने कम्पनीको दाबी छ । रियर ह्वील ड्राइभ प्रणालीमा आधारित यो गाडीले सन्तुलित र सहज ड्राइभिङ अनुभव दिने कम्पनीले जनाएको छ ।
हाइब्रिड एसयूभी आइकार भी–२७
चेरी अटोमोबाइल ग्रुपको प्रिमियम ब्रान्ड आइकारको भी–२७ हाइब्रिड अफरोड एसयूभी पनि नाइमा एक्स्पोमा प्रदर्शन गरिने भएको छ । एसपीजी अटोमोबाइल्सले नेपाल ल्याउन लागेको यो गाडी ईआरईभी प्रविधिमा आधारित छ । यसको अल ह्वील ड्राइभ संस्करणमा ३३५ किलोवाटसम्मको अधिकतम पावर र ५०५ न्यूटन मिटर टर्क उपलब्ध छ । ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन यसलाई ५.५ सेकेन्ड मात्र लाग्ने कम्पनीको दाबी छ । ३४.३ किलोवाट–घण्टा क्षमताको एलएफपी ब्याट्री रहेको यसले प्योर ईभी मोडमा करिब १४५ किलोमिटर र इन्धनसहित कुल १२०० किलोमिटर हाराहारी रेन्ज दिनेछ ।
हाभल जोलियन म्याक्स ईभी
ग्रेटवाल मोटर्स अन्तर्गतको एसयूभी ब्रान्ड हाभलले आफ्नो पहिलो प्योर ईभी ‘जोलियन म्याक्स ईभी’ नेपालमा सार्वजनिक गर्ने भएको छ । ओरा फाइभ ईभीमा प्रयोग गरिएको प्रविधिमा आधारित यो गाडीमा १५० किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर र ५८.३ किलोवाट–घण्टा ब्याट्री रहने अपेक्षा गरिएको छ । यसले १२० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ । कम्पनीका अनुसार फास्ट चार्जर प्रयोग गर्दा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २० मिनेट लाग्नेछ ।
लीपमोटरको हाइब्रिड एसयूभी बी०३
चीनमा सार्वजनिक भइसकेको लीपमोटर बी०३ नेपालमा दुई भेरियन्टमा आउने भएको छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टमसहितको यस गाडीमा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ, जसले २०० एनएम टर्क उत्पादन गर्छ । १४.६ इन्चको २.५के एचडी टचस्क्रिन, लेभल–२ एडास, १८ इन्च एलोय ह्वील र ५१० लिटर बुट स्पेसजस्ता सुविधा यसमा उपलब्ध छन् ।
जेटोर
चेरी होल्डिङ ग्रुपअन्तर्गतको प्रिमियम ब्रान्ड जेटोर नेपाल प्रवेश गर्ने भएको छ । लक्ष्मी ग्रुपले जेटोर ब्रान्ड नेपाल ल्याउने तयारी गरेको हो । यसअघि सीजी ग्रुपले ल्याउने सम्झौता गरे पनि विभिन्न कारणले रोकिएको यो ब्रान्ड अब नयाँ वितरकमार्फत नेपाली बजारमा आउने भएको छ ।
टाटा सिएरा ईभी
टाटा मोटर्सको चर्चित मोडल सिएरा ईभी पनि एक्स्पोको आकर्षण बन्नेछ । ६३ किलोवाट–घण्टा ब्याट्री रहेको सिएरा ईभीले नेपाली सडकमा करिब ४४० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ । १२.३ इन्च टचस्क्रिन, १०.२५ इन्च डिजिटल डिस्प्ले, वायरलेस चार्जिङ, फाइभ–जी कनेक्टिभिटी, ७० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर र एडभान्स सुरक्षा प्रणाली यसका प्रमुख विशेषता हुन् ।
लक्जरी इलेक्ट्रिक पिकअप एमजी यू-९
प्रिमियम ईभी पिकअप सेग्मेन्टमा एमजी यू-९ पनि नेपाल आउने भएको छ । १०२.२ किलोवाट–घण्टा एलएफपी ब्याट्री र ३२५ किलोवाट क्षमताको डुअल मोटर रहेको यो गाडीले डब्लुएलटीपी मापदण्डअनुसार ४३० किलोमिटर रेन्ज दिनेछ । डीसी फास्ट चार्जिङमार्फत १० मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्टजस्ता आधुनिक सुरक्षा प्रविधि यसमा छन् ।
हङसी
चीनको प्रिमियम अटो ब्रान्ड हङसी पनि नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ । कम्पनीले सुरुवाती चरणमा हङसीका एक वा दुईवटा विद्युतीय मोडल नेपाल ल्याउने तयारी गरेको छ । नेपाल आउने मोडलमध्ये ईएचएस–९ र ईएचएस–७ एसयूभी रहने अनुमान गरिएको छ । यी गाडीको मूल्य करिब ६० देखि ६५ लाख रुपैयाँबाट सुरु हुने अपेक्षा गरिएको छ ।
डेन्जा
साइमेक्स इंकले यसपटकको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बीवाइडीको प्रिमियम ब्रान्ड डेन्जाका तीन मोडल बी५, बी८ र डी९ प्रदर्शन गर्ने भएको छ । साथै, कम्पनीले बीवाइडी एटो ३ फेसलिफ्ट पनि पहिलोपटक नेपाली बजारमा प्रस्तुत गर्ने तयारी गरेको छ । डेन्जा बी५ प्रिमियम प्लग–इन हाइब्रिड एसयूभी हो। यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग ३१.८ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ।
पेट्रोल र विद्युतीय दुवै प्रणालीको प्रयोगबाट यसले ७८० देखि ८५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसको प्रिमियम भेरियन्टमा २० इन्चका एलोय ह्वील, १५.६ इन्चको ठूलो इन्फोटेनमेन्ट टचस्क्रिन, मसाज सिट, प्रिमियम साउन्ड सिस्टम तथा बीवाइडीको चर्चित ब्लेड ब्याट्री प्रविधि उपलब्ध छ ।
साथै, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता आधुनिक सुरक्षा सुविधा पनि समावेश गरिएको छ । बीवाइडी र मर्सिडिज–बेन्जको संयुक्त लगानीबाट सुरु भएको डेन्जा ब्रान्डलाई लक्जरी, अत्याधुनिक प्रविधि र उच्चस्तरीय आरामका कारण प्रिमियम सेग्मेन्टमा विशेष रूपमा हेरिन्छ। एक्स्पोमा बी५सँगै बी८ र लक्जरी इलेक्ट्रिक एमपीभी डी-९ पनि मुख्य आकर्षणका रूपमा रहने अपेक्षा गरिएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विश्वका चर्चित अटो ब्रान्डहरूले नयाँ पुस्ताका विद्युतीय तथा स्मार्ट सवारी सार्वजनिक गर्ने तयारी गरेसँगै नेपाली अटो बजारमा प्रतिस्पर्धा थप बढ्ने देखिएको छ ।
विशेषगरी ईभी क्षेत्रमा बढ्दो लगानी, नयाँ प्रविधि र उपभोक्ताको बदलिँदो रुचिका कारण यसपटकको एक्स्पो नेपाली अटो क्षेत्रकै सबैभन्दा ठूलो प्रविधि प्रदर्शनमध्येको एक बन्ने अपेक्षा गरिएको छ ।
