जुलाई-अगस्टः राम्रा सूचना आउने र बजारलाई उचाईमा पुर्याउने महिना, यसपटक तोडिएला पुरानो रेकर्ड?
काठमाडौं । गत साता सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २ प्रतिशतभन्दा बढी बढेको छ । साउन १ गते मंगलबार २६७७.५४ मा रोकिएको नेप्से साउन ८ गते (२०२४ जुलाई २४) बुधबार २.१३ प्रतिशत अर्थात् ५७.०५ अंक बढेर २७३४.६० विन्दुमा बन्द भयो । गत साता पाँच कारोबार दिन खुलेको सेयर बजारमा एक दिन घट्दा चार दिन बढेको थियो ।
त्यसअघि असार २६ गते (जुलाई १०) २६००.७८ विन्दुमा बन्द भएको नेप्से २.९५ प्रतिशत अर्थात् ७६.७५ अंक बढेर साउन १ गते २६७७.५४ अंकमा रोकिएको थियो । यो साता पनि चार कारोबार दिन नेप्से बढ्दा एक कारोबार दिन घटेको थियो ।
चालु वर्षको साउन लागेसँगै सेयर बजारले सकारात्मक लय समातेको छ । साउन महिना सामान्यतया बजारले सकारात्मक गति समाउने समय हो ।
साउनमा प्रायः सूचीकृत कम्पनीहरूले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने भएकाले सेयर लगानीकर्ताहरूमा लाभांश अपेक्षा बढ्छ । सुस्त कारोबारमा रहेका लगानीकर्ताहरू लाभांश अपेक्षासँगै नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजारमा सक्रियता बढाउँछन् । त्यसैले यही समयमा सेयर खरिद(बिक्री पनि उच्च दरमा हुने गर्दछ । त्यस्तै मौद्रिक नीति र बजारको मनोविज्ञानले पनि सकारात्मक भूमिका खेल्छ ।
अझ ब्याजदर, तरलता (लगानीयोग्य रकम), राजनीतिक अवस्था र समग्र आर्थिक परिदृश्यले सेयर बजारलाई नयाँ उचाइमा पुर्याउँछ । चालु वर्ष केही कुरा एकदमै सकारात्मक छन् । जस्तै ब्याजदर अहिलेसम्मकै न्यून विन्दुमा छ । वित्तीय बजारमा तरलता यथेष्ट छ । राजनीतिक रूपमा हेर्ने हो भने दुई तिहाइ नजिकको बहुमतसहित एकदमै स्थिरता दिने किसिमको सरकार छ ।
सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय पनि यही भएको र लगानीकर्ताले नाफा, लाभांश क्षमता तथा कम्पनीको समग्र वित्तीय अवस्थाको मूल्याङ्कन गरी कारोबार गर्ने आधारशिला तयार हुन्छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाले साउन १५ भित्र आर्जित कमाइलाई गत वर्षकै वित्तीय प्रतिवेदन र ब्यालेन्स सिटमा देखाउन पाउने भएकाले बैंकिङ, विकास बैंक र वित्त समूहका सेयरप्रति लगानीकर्ताको थप आकर्षण देखिन्छ । साउनलाई पुँजी बजारमा ‘लाभांश सिजन’को सुरुवातका रूपमा पनि हेरिने भएकाले सामान्यतया सेयर बजारले सकारात्मक प्रभाव देखाउँछ ।
अंग्रेजी महिनाको आधारमा जुलाई महिना अपेक्षाकृत सकारात्मक देखिन्छ । यो जुलाईमा भएका १८ कारोबार दिनमध्ये ११ दिन नेप्से बढ्यो भने ७ दिन घट्यो । समग्रतामा जुलाई महिनाभर नेप्से २५६ अंकले वृद्धि भएको छ । यद्यपि, जुलाई १३ (असार २९) मा नेप्से ३०.६० अंकले घट्दै महिनाकै ठूलो एकदिने गिरावट बेहोरेको थियो ।
जुलाई १ (असार १७) मा २६५२ विन्दुमा पुगेको नेप्से जुलाई १३ मा घटेर २५७० विन्दुसम्म झरेको थियो र त्यसपछि चार कारोबार दिनसम्म सोही आसपास घुमिरह्यो । त्यसपछि बजारले गति समायो र जुलाई २० (साउन ४) मा १९ कारोबार दिनपछि २७०० विन्दुमाथि उक्लियो । जुलाई २४ (साउन ८) सम्म आइपुग्दा नेप्से २७३४ विन्दुमा पुगेको छ । नयाँ आर्थिक वर्ष २०८१र८२ को पहिलो कारोबार दिन अर्थात् साउन १ गते नेप्से ७९.७४ अंकले उकालो लागेको थियो, जुन पछिल्ला महिनाकै सबैभन्दा ठूलो एकदिने वृद्धि हो ।
नेपाली पुँजी बजारका लागि जुलाई महिना परम्परागत रूपमा ‘बुलिस’ मानिने गरेको छ । पछिल्लो २८ वर्षको नेप्से सूचकलाई हेर्ने हो भने बुलिस प्रवृत्तिलाई पुष्टि गर्छ । यो अवधिमा नेप्से सूचक २१ पटक बढ्दा ७ पटक मात्र घटेको छ । पछिल्ला दुई वर्षको प्रदर्शनले पनि जुलाईप्रतिको यो सकारात्मक धारणा अझ बलियो बनाएको छ ।
जुलाई २०२३ मा नेप्से करिब ३५ प्रतिशतले उकालो लागेको थियो भने जुलाई २०२४ मा पनि ११.०६ प्रतिशतले वृद्धि भएको थियो । गत वर्ष साउन महिना लगानीकर्ताका लागि उत्साहजनक बनेको थियो । साउन १३ गते नेप्से चार वर्षयताकै उच्च ३००२ विन्दुसम्म पुगेको थियो । त्यसअघि २०२१ जुलाई २९ मा नेप्सेले उच्च लय समाउँदै २७४८.९९ अंकमा थियो ।
यद्यपी सो वर्ष ३१ साउन २०८१ (१६ अगस्ट २०२४) मा नेप्से सूचक ३०००.८१ अंक कायम भएको थियो । सोही दिन २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर खरिद विक्री भई हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड पनि बनेको थियो ।
२०८१ साउन ४ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो, जुन आर्थिक वर्ष २०८१र८२ कै उच्च कारोबार रकम हो ।
त्यति मात्र होइन, नेप्सेले हालसम्मकै पटक(पटकका उच्च विन्दु पक्रँदा साउन(भदौ अर्थात् जुलाई(अगस्टलाई पछ्याएको देखिन्छ । हालसम्मकै उच्च विन्दु ३१९८.६० विन्दु कायम भएको मिति पनि १५ अगस्ट २०२१ (२०७८ भदौ ३०) थियो । त्यसैगरी त्यसअघिको मितिसम्मको उच्च विन्दु ११७५.३८ अंक पनि ३१ अगस्ट २००८ (भदौ १५, २०६५) मा प्राप्त भएको थियो । त्यति मात्र होइन, जुलाई(अगस्टमा कारोबार रकमले पनि उचाइ छुने गरेको छ । यसले पनि देखाउँछ कि जुलाई र अगस्ट सेयर बजारका लागि स्वर्णिम अवसर बन्ने गरेका छन् ।
इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) का अध्यक्ष भक्तिराम घिमिरेले ब्रोकरहरूको मार्जिन ट्रेडिङ सेवा सुरु हुने तयारीले बजारमा नयाँ लगानी भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार मार्जिन ट्रेडिङ कार्यान्वयन भएपछि बजारमा थप तरलता सिर्जना हुनेछ र नयाँ लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढ्नेछ ।
“बजारमा नयाँ पैसा जति भित्रिन्छ, त्यसअनुसार बजार पनि अघि बढ्दै जान्छ । बैंक तथा विकास बैंकहरूको राम्रो वित्तीय प्रतिवेदनले पनि बजारलाई सकारात्मक बनाउनेछ,” घिमिरेले भने । उनका अनुसार हालसम्म सार्वजनिक भएका विकास बैंकहरूको वित्तीय विवरण उत्साहजनक देखिएका छन् र त्यसको सकारात्मक प्रभाव समग्र बजारमा पर्नेछ । आगामी महिनाहरूमा पनि बजारले सकारात्मक लय कायम राख्ने उनको विश्वास छ ।
यस्तै, अग्रवाल सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६) का निर्देशक भुवनेश्वर यादवले पनि बजारका आधारभूत सूचकहरू सकारात्मक रहेकाले अब नेप्सेले माथिल्लो यात्रा तय गर्नुपर्ने अवस्था रहेको बताए । उनका अनुसार लामो समयदेखि सुधारको प्रतीक्षामा रहेको बजार अहिले लाभांश वितरणको समय नजिकिँदै जाँदा थप बलियो आधारमा पुगेको छ । तर, सरकारी हस्तक्षेप र नीतिगत अनिश्चितताले लगानीकर्ताको मनोबलमा अझै दबाब सिर्जना गरिरहेको उनको भनाइ छ ।
“बजार बढ्नुपर्ने सबै आधार छन् । तर सरकारी डर र हस्तक्षेपका कारण लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा छन्,” यादवले भने, “सरकारी नीतिमा स्पष्टता आउँदै गए र लगानीकर्ताको मनोबल फर्किए बजारले थप गति लिनेछ ।”
समग्रमा हेर्दा, ऐतिहासिक रूपमा साउन महिनाको सकारात्मक प्रदर्शन, सूचीकृत कम्पनीहरूको उत्साहजनक वित्तीय विवरण, सम्भावित आकर्षक लाभांश, नेपाल राष्ट्र बैंकको नीतिगत सहजीकरण, मार्जिन ट्रेडिङ सेवा सुरु हुने तयारी तथा बढ्दो कारोबार रकमले यस वर्ष पनि नेप्सेले सकारात्मक यात्रालाई निरन्तरता दिन सक्ने आधार बलिया देखिएका छन् । पछिल्लो समय देखाएको नियामकिय अग्रसरता र प्रधानमन्त्री बालेन्द्र शाह स्वयंको सक्रियताले सेयर बजारलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।
निरन्तरको गिरावटबीच प्रधानमन्त्री शाहले सेयर बजारका लगानीकर्ताहरूसँग भेट्ने भनी सूचना प्रवाहित भएपछिको भेटघाटदेखि यता मात्रै नेप्से पछिल्लो ६ कारोबार दिनमा करिब १३० अंकले बढिसकेको छ । धेरै लगानीकर्ताहरूले बजारमा आएका अफवाह र नराम्रा सूचनाहरू सकिएर नयाँ र राम्रो सूचनाहरू प्रवाह हुन थालेकाले अबको समय अत्यन्तै उत्साहप्रद र सकारात्मक रहेको बताउन थालेका छन् ।
