बजेटपछि विद्युतीय गाडीको मूल्यमा उलटफेर, हालसम्म कुनले बढाए, कसले घटाए?
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी)मा मूल्यका आधारमा कर निर्धारण गरेसँगै गाडीको मूल्यमा ठूलो उलटफेर आएको छ । केही गाडीको मूल्य एकदमै धेरै बढेको छ भने केही ब्रान्डले भने घटाएका छन् । हालसम्म आउँदा दर्जनौं गाडीको मूल्य समायोजन भइसकेको छ । नयाँ बजेटमार्फत सरकारले अन्तःशुल्कलाई पूर्ण रूपमा खारेज गरी त्यसको सट्टा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ कर कार्यान्वयनमा ल्याएको छ ।
जसमा सबै विद्युतीय गाडीमा भन्सार महसुल २० प्रतिशत लाग्ने छ। मूल्यका आधारमा विभिन्न दरमा स्वच्छ पूर्वाधार लगानी शुल्क निर्धारण गरिएको छ । यसका अतिरिक्त, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत सडक निर्माण दस्तुरलाई भने यथावत राखिएको छ ।
विगतमा, सरकारले विद्युतीय गाडीको मोटर क्षमता (किलोवाट) अनुसार भन्सार, अन्तःशुल्क, सडक दस्तुर र मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदै आएको थियो । ५० किलोवाटसम्मका गाडीमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा ३०० किलोवाटभन्दा माथिका गाडीमा ५० प्रतिशतसम्म अन्तःशुल्क थियो भने त्यसअघि १५ देखि ८० प्रतिशतसम्म भन्सार महसुल लाग्दथ्यो । जसअनुसार ईभीमा न्यूनतम ४१.४५ प्रतिशतदेखि २१० प्रतिशतसम्म कर लाग्दथ्यो ।
नयाँ बजेटमार्फत सरकारले अन्तःशुल्कलाई पूर्ण रूपमा खारेज गरी त्यसको सट्टा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ कर कार्यान्वयनमा ल्याएको छ । जसअनुसार सबै विद्युतीय गाडीमा भन्सार महसुल २० प्रतिशत लाग्नेछ भने मूल्यका आधारमा विभिन्न दरमा स्वच्छ पूर्वाधार लगानी शुल्क निर्धारण गरिएको छ । यसका अतिरिक्त, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत सडक निर्माण दस्तुरलाई भने यथावत राखिएको छ ।
जसअनुसार २० लाख रूपैयाँ इन्भ्वाइस मूल्य रहेका कारमा ४४ प्रतिशत कर लाग्दछ । यसैगरी २० देखि ३० लाख मूल्य रहेका ईभीमा ६८ प्रतिशत कर लाग्दछ ।
३० देखि ४० लाख रूपैयाँ इन्भ्वाइस मूल्य भएका कारमा ८८ प्रतिशत, ४० देखि ५० लाख रूपैयाँका ईभीमा १६३ प्रतिशत र ५० लाख रूपैयाँ भन्दा बढीका ईभीमा २१७ प्रतिशत कर लाग्ने भएको छ ।
मूल्य घटेका गाडीहरू
मूल्यमा आधारमा कर लाग्ने व्यवस्थासँगै केही ब्रान्डहरुले आफ्नो गाडीको मूल्य घटाएका छन् । स्काइवेल ब्रान्डका गाडीहरूमा १६ लाख रुपैयाँसम्मको गिरावट आएको छ । ७९ लाख ९० हजार रुपैयाँ पर्ने स्काइवेल ‘बीई११’ (५२ किलोवाट आवर)को मूल्य १४ लाखले घटेर ६५ लाख ९० हजार कायम भएको छ ।
यस्तै, ७२ किलोवाट आवर क्षमताको भेरियन्टको मूल्य १५ लाखले घटेर ७४ लाख ९० हजार र ८५.९ किलोवाट आवरको लङ रेन्ज भेरियन्टको मूल्य १६ लाख रुपैयाँले घटेर ९९ लाख रुपैयाँमा झरेको छ ।
यस्तै, ५९ लाख ९९ हजार रहेको लिपमोटर ‘बी१०’को मूल्य पनि ५ लाख रुपैयाँले घटाएर ५४ लाख ९९ हजार ९९९ रुपैयाँमा झारिएको छ । सुजुकी ब्रान्डले पनि आफ्ना ई–भिटारा मोडलहरूको मूल्य घटाएको छ । सुजुकी ‘ई–भिटारा’को बेस भेरियन्टको मूल्य ४ लाखले घटेर ४८ लाख ९९ हजार र टप भेरियन्ट मूल्य ५ लाखले घटेर ५९ लाख ४९ हजार रुपैयाँ कायम भएको छ ।
मूल्य बढेका गाडीहरू
मूल्यमा आधारमा कर लाग्ने व्यवस्थासँगै सबैभन्दा बढी प्रिमियम र महँगा गाडीको मूल्य बढेको छ । यसअघि १ करोड ९९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको बीएमडब्ल्यू ‘आईएक्स वान’को मूल्य एकैपटक १ करोड ३० लाख रुपैयाँले बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी, चांगन ब्रान्डको ‘दिपल एस०७ प्लस’ को मूल्य ४ लाख रुपैयाँले बढेर ५७ लाख ९९ हजार रुपैयाँ कायम भएको छ भने ‘दिपल एस०७ म्याक्स’ को मूल्य ३ लाख रुपैयाँले बढेर ६२ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
ओमोडा र जेकोको ‘आईकार भी२३’ को मूल्य पनि ३ लाख रुपैयाँले वृद्धि भई ५४ लाख रुपैयाँ पुगेको छ भने ‘ओमोडा जे६’ को मूल्य १ लाख रुपैयाँले बढेर ७० लाख रुपैयाँ कायम गरिएको छ ।
नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले जिली इएक्स फाइभ म्याक्स र प्रोको मूल्य बढाएको छ । कम्पनीले ईएक्स फाइभ म्याक्स भेरियन्टको मूल्य ३ लाख रुपैयाँ र प्रो भेरियन्टको २ लाख रुपैयाँ बढाएको छ । यो सँगै जिली ईएक्स फाइभ म्याक्सको मूल्य ७३ लाख र जिली ईएक्स फाइभ प्रो को मूल्य ६२ लाख रुपैयाँ पुगेको छ ।
एमजी ब्रान्डका गाडीहरूमा पनि मूल्य वृद्धि देखिएको छ । ‘एमजी एस६’ को मूल्य २ लाख रुपैयाँले बढेर ७२ लाख रुपैयाँ पुगेको छ भने ‘एमजी आईएम६’ को मूल्य ३ लाख रुपैयाँले बढाएर ८१ लाख ९९ हजार रुपैयाँ कायम भएको छ ।
नेपालका लागि बीवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री गर्दै आएको बीवाईडी ‘एटो टु’ को मूल्य ३ लाख ४ हजार रुपैयाँले बढाएर ४८ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।
यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ रहेको ‘एटो थ्री’ (एड्भान्स्ड भेरियन्ट)को मूल्य दुई लाख रुपैयाँले बढाएर ६१ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।
