चौतर्फी आलोचनाले पछि हट्यो सरकार, साझाको हरियो रङमै ‘ब्लु बस’ चलाइने

विज्ञापन
ncell

काठमाडौं । तीब्र आलोचना भएपछि चलिरहेका साझा बसलाई नै ‘ब्लु बस’मा रूपान्तरण गर्ने योजनाबाट सरकार पछि हटेको छ । सरकारले महिलाको सुरक्षित सार्वजनिक आवागमनलाई प्राथमिकतामा राख्ने भन्दै चलिरहेको हरियो रङको गाडीलाई निलो बनाएर ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याउने योजना अघि बढाएको थियो । तर, यसको आलोचना भएपछि अब भने सरकारले हरियो रङको साझामा नै ब्लु बस चलाउने भएको हो । 

हरियो गाडीलाई नै ब्लु बस बनाएर नाम मात्रै परिवर्तन गरी चलाउने तयारी भइरहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले जानकारी दिए । उनकाअनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका निलो रङका बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारिएको भएपनि वास्तवमा हरियो रङको गाडीलाई नै प्रयोग गरी ‘ब्लु बस’ सञ्चालन गरिने र बसको रङ परिवर्तन नगरिने भएको हो । सो गाडीलाई महिलाका लागि छुट्टै सेवा पहिचान गराउन बसमा स्टिकर वा अन्य दृश्यात्मक चिन्ह प्रयोग गर्ने विषयमा छलफल भइरहेको समेत उनले जानकारी दिएका छन् । 

केही दिन यता सरकारले नयाँ बस खरिद गर्ने योजना नराखी हाल सञ्चालनमा रहेका साझा यातायातका बसलाई आवश्यक मापदण्डअनुसार रूपान्तरण गरेर ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने तयारी गरेको भन्दै सामाजिक सञ्जालमा तीब्र आलोचना भएको थियो । 

अहिले उठिरहेका सार्वजनिक प्रतिक्रिया, सुझाव तथा चासोलाई समेत कसरी सम्बोधन गर्ने भन्ने विषयमा मन्त्रालयहरूबीच निरन्तर छलफल भइरहेको जनाइएको छ। सबै प्रक्रिया पुरा भएपछि यातायात व्यवस्था सम्बन्धी निकाय, पूर्वाधार विकास मन्त्रालय तथा अर्थ मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि मात्रै सरकार र साझा यातायातबीच औपचारिक एमओयू हुनेछ।

ब्लु बस कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने विषयमा भने अहिले नै निश्चित मिति तोक्न नसकिने बताइएको छ । यद्यपि, साउनदेखि सञ्चालको तयारी भने भइरहेको र सो मितिबाट नै सुरु हुनसक्छ भन्ने स्थिति नरहेको अर्यालले जानकारी दिए । 

सरकारले ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ अन्तर्गत महिलाको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यले निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने योजना अघि सारेको हो । प्रारम्भिक योजनाअनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र आठ वटा ब्लु बस सञ्चालन गर्ने तयारी गरिएको छ । बसमा आवश्यक पहिचान परिवर्तन, रङ तथा अन्य प्राविधिक तयारीसम्बन्धी काम पनि आवश्यक निर्णयपछि अघि बढाइने जनाइएको छ ।

पहिलो चरणमा प्रारम्भिक योजनाअनुसार उपत्यकामा बुढानीलकण्ठ–लगनखेल–गोदावरी रुटमा दुईवटा, नागढुंगा–विमानस्थल रुटमा दुईवटा तथा चक्रपथ ९रिङरोड० मा चारवटा विद्युतीय बस सञ्चालन गरिनेछ। चक्रपथमा चल्ने चारमध्ये दुईवटा बस कोटेश्वर–गौशाला–कलङ्की रुटमा तथा अन्य दुईवटा कोटेश्वर–सातदोबाटो–कलङ्की रुटमा (क्लकवाइज र एन्टी–क्लकवाइज) सञ्चालन गर्ने योजना तयार गरिएको छ।

सरकारले भविष्यमा यो सेवा काठमाडौं उपत्यकामा मात्र सीमित नराखी सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । सार्वजनिक यातायात प्रयोग गर्ने क्रममा महिलाले भोग्ने असुरक्षा, दुर्व्यवहार तथा असहज अवस्थालाई न्यूनीकरण गर्दै सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सरकारी भनाइ छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले २०८२ चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’मा महिला सुरक्षा, सुरक्षित सार्वजनिक यातायात तथा जलन उपचारलाई प्राथमिकतामा राख्दै पहिलो एक सय दिनभित्र कम्तीमा २५ वटा निःशुल्क ब्लु बस सञ्चालन गर्ने लक्ष्य राखिएको थियो।