ठेक्का सम्झौता उल्लंघन गर्ने लोहनी निर्माणसहित चार कम्पनीमाथि प्रतिबन्ध, सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने

सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न नगरेको र खरिद सम्झौता उल्लंघन गरेको ठहर गर्दै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम ती कम्पनी र तिनका सञ्चालकहरूलाई निश्चित अवधिका लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास निर्माण र आपूर्ति कार्यमा चरम लापरबाही गर्ने चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न नगरेको र खरिद सम्झौता उल्लंघन गरेको ठहर गर्दै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम ती कम्पनी र तिनका सञ्चालकहरूलाई निश्चित अवधिका लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

कालोसूचीमा पर्ने कम्पनीमध्ये लोहनी निर्माण सेवा प्रालि, महेन्द्रनगर, धनुषा प्रमुख रहेको छ। कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। कम्पनीका मुख्य व्यक्ति अनिल लोहनी रहेको सूचनामा उल्लेख छ ।

त्यस्तै, जिम्राको कन्स्ट्रक्सन सप्लायर्स–२, भरतपुर–१, चितवनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्ति रमेश रेग्मी रहेका छन्। यस्तै, गणपति सिभिल सेवा प्रालि, बर्दिबास–१, महोत्तरी लाई दुई वर्ष तथा नवाङ्कुर सिभिल सेवा प्रालि, काठमाडौँलाई पनि दुई वर्षका लागि कालोसूचीमा समावेश गरिएको कार्यालयले जनाएको छ ।

सूचनाअनुसार यी कम्पनीहरूले क्रमशः सर्भाङ्गिण विकास तथा मानव शिक्षा अभियान, बागमती प्रदेश सरकारअन्तर्गतको योजना कार्यान्वयन एकाइ, सडक डिभिजन कार्यालय मकवानपुर तथा खानेपानी तथा सरसफाइ आयोजना हेटौँडासँग भएका सम्झौताअनुसारका कार्य समयमा सम्पन्न नगरेको वा खरिद सम्झौता उल्लंघन गरेको निष्कर्षपछि कालोसूचीमा राखिएको हो ।