जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको बाटो खुल्यो, भारतीय रेल मन्त्रालयले दियो स्वीकृति
रेल्वे मन्त्रालयका अनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने गरी सेवा सञ्चालन हुनेछ ।
काठमाडौँ । भारत सरकारले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । भारतको रेल मन्त्रालयले शनिबार नयाँ रेल सेवाको प्रस्तावलाई स्वीकृति दिएको हो । करिब ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्याको क्यान्टोनमेन्ट स्टेसनसँग जोड्नेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ ।
रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा स्टपेज रहनेछ । रेल्वे मन्त्रालयका अनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने गरी सेवा सञ्चालन हुनेछ । मन्त्रालयले जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा उल्लेख गर्दै यी दुई धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थानलाई रेलमार्गबाट जोड्न लागिएको जनाएको छ ।
भारत र नेपालबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ रेल सेवाले दुई देशका समुदायलाई थप नजिक ल्याउने विश्वास व्यक्त गरेको छ । रेलमार्ग विस्तारसँगै यात्रामार्गमा पर्ने क्षेत्रका पर्यटन व्यवसायी, होटल तथा आतिथ्य सेवा प्रदायक, स्थानीय व्यापारी र परम्परागत हस्तकलामा संलग्न समुदायले समेत आर्थिक लाभ लिन सक्ने भारतीय रेल मन्त्रालयको अपेक्षा छ ।