सुबिसुले सर्वाधिक ग्राहक गुमाउँदा वर्ल्डलिंकको वर्चस्व कायमै, फोरजी प्रयोगकर्ताको संख्या २ करोड ६७ लाख नाघ्यो

टूजी-थ्रीजी प्रयोग गर्ने कति?

काठमाडौं । नेपाली इन्टरनेट सेवा प्रदायकमा वर्ल्डलिंक कम्युनिकेसनले आफ्नो वर्चस्वलाई कायम नै राखेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको वैशाखसम्मको तथ्यांकअनुसार वर्ल्डलिंक कम्युनिकेसन प्रयोगकर्ताको संख्या १० लाख ७८ हजार ७०९ पुगेको छ । जुन कुल बजारको करिब ३१ प्रतिशत हिस्सा हो । 

ग्राहक संख्याको आधारमा दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनीको ग्राहक संख्या ३ लाख ८३ हजार १०१ रहेको छ भने डिश मिडिया नेटवर्क (डिशहोम)को ३ लाख ६९ हजार २१८ रहेको छ । वैशाखसम्मको तथ्यांकअनुसार भायनेट कम्युनिकेसनका ३ लाख ६३ हजार ३७, क्लासिक टेकका २ लाख ८६ हजार ९५३ र सुबिसु केबलनेटको २ लाख ६४ हजार ८४९ ग्राहक रहेका छन् । 

तथ्यांकअनुसार वेबसर्फर नेपाल १ लाख ७३ हजार ४६२ ग्राहक संख्या सहितसातौं स्थानमा छ भने टेकमाइन्ड्स नेटवर्क र वाइफाइ नेपालका क्रमशः १ लाख १७ हजार ७८ र १ लाख ११ हजार ४६४ ग्राहकसहित आठौं र नवौं स्थानमा रहेका रहेका छन् । मुख्य १० कम्पनीको सूचीमा सीजी कम्युनिकेसन्स ९० हजार २०६ ग्राहकका साथ अटाउन सफल भएको छ । 

एक वर्षमा सुबिसुले सर्वाधिक ग्राहक गुमाउँदा कसको कति बढ्यो? 

पछिल्लो एक वर्षको तथ्यांकलाई तुलना गर्दा समग्र बजार विस्तार भएको छ भने केही सेवा प्रदायकहरूले उल्लेख्य रूपमा आफ्नो बजार हिस्सा बढाउन सफल देखिएका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा फिक्स्ड ब्रोडब्यान्ड (एफटीटीएच, एडीएसएल, केबल तथा वायरलेस इन्टरनेट) प्रयोगकर्ताको सङ्ख्यामा साढे ३ लाख भन्दा बढीले वृद्धि भएको छ ।

२०८२ वैशाखमा कूल फिक्स्ड ब्रोडब्यान्ड ग्राहक सङ्ख्या ३१ लाख ३२ हजार ३ सय ५० रहेकोमा २०८३ वैशाखसम्म आइपुग्दा यो सङ्ख्या बढेर ३४ लाख ८७ हजार ९ सय ७२ पुगेको छ । यसरी हेर्दा जनसङ्ख्यामा फिक्स्ड ब्रोडब्यान्डको पहुँच ४६.४९ प्रतिशतबाट बढेर ५१.७९ प्रतिशत पुगेको छ ।

दूरसञ्चार बजारमा फिक्स्ड ब्रोडब्यान्ड (विशेषगरी फाइबर इन्टरनेट) को माग दिनानुदिन बढ्दो छ । शीर्ष स्थानमा रहेका कम्पनीहरूको आधार बलियो भए तापनि भायानेट र क्लासिक टेक जस्ता मध्य–स्तरका कम्पनीहरूको आक्रामक बजार विस्तारले आउँदा दिनहरूमा इन्टरनेट सेवा प्रदायकहरू बीचको प्रतिस्पर्धा अझै कडा र रोचक हुने देखाउँछ ।

बजारको लिडर वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड अझै पनि स्पष्ट रूपमा शीर्ष स्थानमा निकै अगाडि छ । २०८२ मा १० लाख ३ हजार ९ सय ४९ ग्राहक भएको यो कम्पनीको ग्राहक सङ्ख्या २०८३ मा आइपुग्दा १० लाख ७८ हजार ७ सय ९ पुगेको छ । यद्यपि, बजारमा अन्य कम्पनीहरूको आक्रामक वृद्धिका कारण वर्ल्डलिंकको समग्र बजार हिस्सा भने ३२.०५ प्रतिशतबाट घटेर ३०.९३ प्रतिशतमा झरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको ग्राहक सङ्ख्या ३ लाख ५१ हजार ९१२ बाट बढेर ३ लाख ८३ हजार १०१ पुगेको छ भने यसको बजार हिस्सा ११.२३ प्रतिशतबाट १०.९८ प्रतिशतमा खुम्चिएको छ । त्यसैगरी, तेस्रो स्थानमा रहेको डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले आफ्नो ग्राहक सङ्ख्या ३ लाख ५० हजार ४०६ बाट बढाएर ३ लाख ६९ हजार २१८ पु¥याएको छ ।

पछिल्लो एक वर्षको अवधिमा सबैभन्दा प्रभावशाली वृद्धि भायानेट कम्युनिकेसन लिमिटेड र क्लासिक टेक प्रालिले गरेका छन् । २०८२ सालमा ७.८५ प्रतिशत बजार हिस्सासहित पाँचौँ स्थानमा रहेको भायानेटले २०८३ मा सुबिसुलाई उछिन्दै चौथो स्थान ओगट्न सफल भएको छ ।

एक वर्षमै भायानेटको ग्राहक सङ्ख्या २ लाख ४५ हजार ९ सय ४५ बाट बढेर ३ लाख ६३ हजार ३७ पुगेको छ । यसको बजार हिस्सा उल्लेख्य रूपमा बढेर १०.४१ प्रतिशत पुगेको छ । त्यसैगरी, क्लासिक टेक छैटौँ स्थानबाट पाँचौं स्थानमा उक्लिएको छ । यसको ग्राहक सङ्ख्या १ लाख ८२ हजार ९ सय ८६ बाट तीव्र वृद्धि भई २ लाख ८६ हजार ९ सय ५३ पुगेको छ । जसले आफ्नो बजार हिस्सा ५.८४ प्रतिशतबाट ८.२३ प्रतिशतमा पुर्याएको छ ।

इन्टरनेट बजार समग्रमा विस्तार भइरहँदा सुबिसु केबलनेट लिमिटेडले भने ठुलो धक्का ब्यहोरेको छ । अधिकांश ठुला कम्पनीहरूको ग्राहक बढ्दा सुबिसुको ग्राहक सङ्ख्या भने घटेको छ ।

वैशाख २०८२ मा ३ लाख १० हजार २ सय ९४ ग्राहकसहित चौथो स्थानमा रहेको सुबिसु वैशाख २०८३ सम्म आइपुग्दा २ लाख ६४ हजार ८ सय ४९ ग्राहकमा झरेको छ । यससँगै सुबिसुको स्थान चौथोबाट छैटौं स्थानमा खस्किएको छ भने बजार हिस्सा ९.९१ प्रतिशतबाट भारी गिरावट भई ७.५९ प्रतिशतमा खुम्चिएको छ ।

यो एक वर्षको अवधिमा सुबिसु केबलनेट लिमिटेडले ४५ हजार ४४५ ग्राहक गुमाएको छ । यसका अतिरिक्त, साना कम्पनीहरूमा वाईफाई नेपाल प्रालिले पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ७४ हजार ग्राहकसहित दशौं स्थानमा रहेको वाईफाई नेपाल यस वर्ष १ लाख ११ हजार भन्दा बढी ग्राहक बनाएर नवौं स्थानमा उक्लिएको छ ।

फोरजी प्रयोगकर्ताको संख्या २ करोड ६७ लाख पुग्यो

दूरसञ्चार प्राधिकरणको वैशाखसम्मको तथ्यांकअनुसार नेपालमा उच्च गतिको इन्टरनेट सेवाको पहुँच निरन्तर विस्तार गइरहेको देखिन्छ । कुल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या ४ करोड ५२ लाख १९ हजार ९६ पुगेको छ । जुन कुल जनसंख्याको १५५.०५ प्रतिशत बराबर हो, यो अनुपात १०० प्रतिशतभन्दा माथि हुनुको अर्थ धेरै व्यक्तिले एकभन्दा बढी इन्टरनेट जडान वा सिम प्रयोग गरिरहेका छन् भन्ने हो ।

मोबाइल ब्रोडब्यान्डतर्फ फोरजी प्रयोगकर्ताको संख्या लगातार बढी रहेको देखिन्छ । प्राधिकरणको तथ्यांकअनुसार फोरजी प्रयोगकर्ताको संख्या २ करोड ६७ लाख ३३ हजार २०८ पुगेको छ ।

टूजी मोबाइल सेवा प्रयोगकर्ताको संख्या २४ लाख ७८ हजार १०६ रहेको छ भने थ्रीजी प्रयोगकर्ताको संख्या ७ लाख ६५ हजार ३४४ रहेको छ । स्थिर ब्रोडब्यान्डतर्फ अप्टिकल फाइबर सेवाको प्रयोग पनि उल्लेखनीय रूपमा बढेको छ । यस्तै, फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ५१ लाख २ हजार ७२४ पुगेको छ 

त्यसैगरी, ताररहित ब्रोडब्यान्ड सेवा प्रयोगकर्ताको संख्या १ लाख ३८ हजार २७१ रहेको छ भने एडीएसएल तथा केबलमार्फत इन्टरनेट प्रयोगकर्ताको संख्या भने १ हजार ४४२ मा सीमित रहेको छ । यसरी, नेपालमा फोरजी र फाइबर इन्टरनेट सेवाको पहुँच तीव्र गतिमा बढिरहेको तथा टुजी र थ्रीजी सेवाको प्रयोग घट्दो क्रममा रहेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।