सुकुम्बासी बस्तीमा डोजर चलाउँदा सरकार संवेदनहीन बन्यो: खुश्बु ओली

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले काठमाडौंको सुकुम्बासी बस्ती तहसनहस पारिसकेपछि मात्र रास्वपाले डोजर रोक्न सरकारलाई गरेको आग्रहको कुनै अर्थ नरहेको बताइन् ।

काठमाडौं । राप्रपाकी सचेतक खुश्बु ओलीले सुकुम्बासी बस्तीमा चलाइएको डोजर र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर सरकारको आलोचना गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले काठमाडौंको सुकुम्बासी बस्ती तहसनहस पारिसकेपछि मात्र रास्वपाले डोजर रोक्न सरकारलाई गरेको आग्रहको कुनै अर्थ नरहेको बताइन् । उनले दुई जना गरिबले वर्षौंको दुःखले बनाएको टहरा भत्किएपछि आत्मदाह गर्न विवश हुँदासमेत सरकारले कुनै संवेदना प्रकट नगरेको बताइन् । 

‘उनीहरूको जीवन समाप्त हुँदा समेत सरकारले न त कुनै वक्तव्य निकाल्यो, न त कुनै संवेदना नै प्रकट गर्यो । यसले यो सरकार सामान्य भुईं मान्छेहरूबाट कति टाढा छ भन्ने स्पष्ट पार्छ,’ उनले भनिन् । 

उनले नेपालमा मृत्युको पनि वर्ग र जात हुने गरेको टिप्पणी गरिन् । ओलीले गरिबको मृत्युलाई सरकारले बेवास्ता गरेको बताइन् । हिजोका दिनमा सत्तापक्षका साथीहरूले मानिसको जीवन प्रमुख हो, सिंहदरबार त फेरि पनि बनाउन सकिन्छु भनेको स्मरण गराउँदै ओलीले आज खोला किनारमा बस्ने गरिबको जीवनको मूल्य छ कि छैन भनी प्रश्न गरिन् । ‘४८ घण्टाको समय पनि नदिई राति डोजर चलाएर घर भत्काउनुलाई कसरी उद्धार भन्न मिल्छ र?’ उनले प्रश्न गरिन् ।