समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न निर्देशन, अटेर गरे कानुनी कारबाही हुने

समितिले मंगलबार सूचना जारी गर्दै समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी गर्न सुचना जारी गरेको हो ।

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारीहरूबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई तत्काल कर्जा चुक्ता गर्न सूचना जारी गरेको छ । समितिले मंगलबार सूचना जारी गर्दै समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी गर्न सुचना जारी गरेको हो । 

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको प्रक्रियालाई अगाडि बढाएको हो । बचतकर्ताको रकम फिर्ता गर्ने प्रयोजनका लागि ऋणीहरूबाट असुली हुनुपर्ने रकम संकलन गर्न अनिवार्य भएको समितिले बताएको छ । यसैबीच, समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा जमानीकर्ताहरूलाई समेत तत्काल समितिको कार्यालयमा सम्पर्क राख्न सूचनामा उल्लेख गरेको छ । तोकिएको समयमा कर्जा भुक्तानी नगरे वा सम्पर्कमा नआए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत समितिले स्पष्ट पारेको छ ।