वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एभरेष्ट कलरको आईपीओ खुल्यो
इच्छुक आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बैशाख २२ गतेसम्म यस आईपीओमा आवेदन दिन पाउनेछन् ।
काठमाडौं । एभरेष्ट कलरले आज (बैशाख १६ गते) देखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी यो आईपीओ जारी गरेको हो ।
कम्पनीले आफ्नो कुल जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता सेयर निष्काशनका लागि अनुमति प्राप्त गरेको थियो । यसमध्ये, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेयर छुट्याइएको छ ।
इच्छुक आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बैशाख २२ गतेसम्म यस आईपीओमा आवेदन दिन पाउनेछन् । यदि तोकिएको समयभित्र पूर्ण आवेदन प्राप्त नभएमा, निष्काशन अवधि बैशाख ३० गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले लिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै, सिडिएस एण्ड क्लियरिङ्गद्वारा निर्मित अनलाइन सफ्टवेयर ‘मेरो सेयर’ प्रयोग गरी सि(आस्बा प्रणालीमार्फत पनि सहजै आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले एभरेष्ट कलरलाई ‘केयरएनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।