दीपक भट्ट र सुलभ अग्रवालको घर र कार्यालयमा छापा, कागजपत्र नियन्त्रणमा
छापा मार्ने क्रममा विभागले अनुसन्धानसम्बन्धी डकुमेन्ट, मोबाइल, सीपीयूलगायत जफत गरेको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घरमा र कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा डकुमेन्ट लिन तीन स्थानमा पुगेको हो । छापा मार्ने क्रममा विभागले अनुसन्धानसम्बन्धी डकुमेन्ट, मोबाइल, सीपीयूलगायत जफत गरेको छ । विभागको टोलीले भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २१ गते पक्राउ गरेको थियो । उनीहरूविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको छ । विभागले उनीहरूको घर र कार्यालयमा १२ घण्टाभन्दा लामो विशेष अप्रेसन चलाएको हो ।
भट्टमाथि बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार (सेयर बजार) र अन्य क्षेत्रमा लगानी गरी त्यसको अवैध स्रोत लुकाएको, छलेको र स्वरूप बदलेको आरोप छ ।
अदालतको आदेशमा उल्लेख भएअनुसार, भट्टले सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) का विभिन्न खण्डहरूद्वारा निषेधित कार्य गरेको अभियोगमा अनुसन्धान भइरहेको छ । अग्रवालमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । यसअघि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए ।