नेप्से २८०० विन्दु माथि, ८ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच
बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.१२ अंक बढेर २८०२.५२ विन्दुमा पुगेको छ ।
काठमाडौं । हिजो घटेको सेयर बजार आज भने बढेको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.१२ अंक बढेर २८०२.५२ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ३४६ कम्पनीको ९८ हजार १६२ पटकको कारोबारमा ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । मंगलबार भने ६ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य सर्वाधिक ४.३५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको ४२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । आज २५१ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ ।