छानबिनको घेरो कसिँदै जाँदा हिमालयन रि–इन्स्योरेन्सकी सिइओ उपासना पौडेल भारत प्रस्थान
विवादास्पद व्यवसायी तथा बिचौलिया दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन प्रक्रिया अघि बढाएसँगै उनी अचानक बैंगलोर प्रस्थान गरेकी हुन् ।
काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपासना पौडेल विवादको अचानक मुलुक छाड्दै भारतको बैंगलोरतर्फ प्रस्थान गरेकी छन् ।
विवादास्पद व्यवसायी तथा बिचौलिया दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन प्रक्रिया अघि बढाएसँगै उनी अचानक बैंगलोर प्रस्थान गरेकी हुन् । जनआस्थामा प्रकाशित समाचारका अनुसार विभागको अनुसन्धानको दायरामा भट्टसँगै अन्य उच्च अधिकारीहरू समेत तानिने सम्भावना देखिएपछि पौडेल डेढ साताको बिदा स्वीकृत गराएर भारत गएकी हुन् ।
यो घटनाक्रमको पृष्ठभूमिमा हिल्टन होटलको बीमा दाबी भुक्तानी प्रकरण जोडिएको छ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि हिल्टन होटलको बीमा दाबीमा अनियमितता भएको भन्दै बीमा प्राधिकरणले सिइओ पौडेललाई २ लाख रुपैयाँ जरिवानासहित कारबाही गरिसकेको छ । चैत ६ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले हिमालयन रि-इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सलाई कारबाही गर्नुका साथै एलियन्ट पुनर्बिमा ब्रोकरको इजाजतपत्र तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । यी तीनवटै संस्थाहरूमा विवादास्पद व्यवसायी दीपक भट्टको प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेको पाइएको छ ।
प्राधिकरणको प्रारम्भिक अनुसन्धानले हिल्टन होटलको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ अन्तर्गतको पुनर्बीमा दायित्वमा गम्भीर कानुनी उल्लंघन भएको देखाएको छ । विशेषगरी, हिमालयन रि(इन्स्योरेन्सले व्यहोर्नुपर्ने ठूलो हिस्साको दायित्व सरकारी स्वामित्वको नेपाल रि-इन्स्योरेन्समा सारेर निजी कम्पनीलाई फाइदा पुर्याउन खोजिएको आरोप छ । हिल्टन होटलमा भएको करिब ४ अर्ब रुपैयाँको क्षतिमध्ये हिमालयन रि-इन्स्योरेन्सले २ अर्ब २५ करोड व्यहोर्नुपर्नेमा पछि सो माग दाबीलाई सरकारी कम्पनी नेपाल रि तर्फ मोड्न खोजिएको भेटिएको हो । यस प्रक्रियामा नेपाल रि-इन्स्योरेन्सको उच्च व्यवस्थापनले समेत भट्टको स्वार्थ अनुकूल कार्य गरेको आशंका गरिएको छ ।
यसैगरी, हिमालयन रि-इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् । यसैबीच, भट्टले दोस्रो बजारबाट हिमालयन रिको सेयर खरिद गर्न सोही कम्पनीको चेक प्रयोग गरी करोडौँ रुपैयाँ भुक्तानी गरेको तथ्य समेत बाहिरिएको छ । उक्त शंकास्पद वित्तीय कारोबारमा सिइओ पौडेलले सहयोग पुर्याएको हुनसक्ने आशंकामा नियामक निकाय र अनुसन्धान विभागले गहिरो निगरानी गरिरहेका छन् । हालको यो पलायनलाई धेरैले अनुसन्धानबाट जोगिने प्रयासको रूपमा हेरेका छन् ।