गरिमा सुवर्ण योजनाको इकाई खरिद गर्ने आज अन्तिम दिन
फागुन २८ गतेदेखि निष्कासनमा आएको गरिमा सुवर्ण योजनाको इकाई खरीद गर्ने आज अन्तिम दिन रहेको छ । क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याएको हो ।
काठमाडौं । गरिमा क्यापिटलको ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले फागुन २८ गतेदेखि यस योजना निष्कासनमा ल्याएको हो । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याएको हो, जसको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ रहेको छ । निष्कासन गरिएका कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।
यो खुलामुखी (ओपन–एन्ड) योजना भएकाले बाँकी इकाईहरू सामूहिक लगानी कोषसम्बन्धी नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको प्रणालीमार्फत निरन्तर खरिद–बिक्रीका लागि खुला गरिनेछ । योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट ‘सी–आस्बा’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ वेब तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।